भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणबारे सकारात्मक जवाफ दिनु भएको छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिएको बताएकी छिन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री डा.राणाले आफूले भदौ २ गतेदेखि ६ गतेसम्म भारत भ्रमण गरेको बताइन् । उनले भारत भ्रमणका अवसरमा भारतीय प्रधानमन्त्री मोदीसँग पनि शिष्टाचार भेटवार्ता भएको बताएकी छिन् ।

डा.राणाले भनिन्, ‘प्रधानमन्त्री केपी ओलीको तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यक्त गर्नुभएको न्यायो अभिवादन तथा शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि दिनुभएको निमन्त्रणा पत्र औपचारिक रूपमा उहाँलाई हस्तान्तरण गरेँ ।’

‘भारतीय प्रधानमन्त्रीले निमन्त्रणा सहर्ष स्वीकार गर्दै नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिनुभएको छ’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।

भारत भ्रमणका दौरान गत भदौ ३ गते भारतका प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेटघाट भएको उनले बताएकी छिन् ।

डा.राणाले भनिन्, ‘भेटमा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने तथा आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा उहाँसँग मेरो छलफल भयो ।’

Published : Tuesday, 2024 September 3, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया