आईजीपीको जिब्रो थुत्छु भन्ने मन्त्रीलाई जिब्रोमा ब्रेक लगाउन सभापति खतिवडाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सञ्चार, सूचना तथा प्रबिधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले मन्त्री गुरुङलाई जिब्रोमा ब्रेक लगाएर मर्यादामा बस्न सुझाव दिए ।

उनले भने, ‘म सत्तारुढ दलकै सांसद हुँ । तर, सञ्चार, सूचना तथा प्रविधिमन्त्रीले केही दिन पहिला नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नु पर्दछ भनेर अभिव्यक्ति दिनु भए छ । यो अभिव्यक्ति आपत्तिजनक छ ।’

‘मन्त्रीहरूलाई अनुरोध गर्न चाहन्छु जिब्रोमा ब्रेक लगाइयोस् । अन्त कहाँ कहाँ लगाउनुपर्ने हो ब्रेक लाग्दै गर्ला । तर, मन्त्रीहरूले जिब्रोमा ब्रेक लगाएर बोल्ने गरियोस् । यसको जवाफ संसदमा दिइयोस्’, सभापति खतिवडाले भने ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री गुरुङले आईजीपीको जिब्रो थुत्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । मन्त्री गुरुङको अभिव्यक्तिको विरोध हुँदै आएको छ ।

सांसद खतिवडाले अहिले शहरमा दुइटा कुराको व्यापक चर्चा रहेको भन्दै मन्त्रीहरूले बोलेका अराजक अभिव्यक्तिबारे सरकारको जवाफ माग गरेका छन् ।

सांसद खतिवडाले गण्डकी प्रदेशका वनमन्त्री दीपक मनाङेले मन्त्री पद बिक्री गर्न राखेको विषयमा पनि आपत्ति जनाए । उनले भने, ‘गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा छ । यो के हो ? यसबारे कसले जवाफ दिनु पर्ने हो ? यसको जवाफ हामी खोज्न चाहन्छौँ ।’

‘मन्त्रीको पद पैसामा बिक्री गर्न शुरुवात गरेको हो की होइन ? यस्ता अभिव्यक्ति किन आउँछन् ? योबारेमा सरकारले जानकारी दिओस्’, सभापति खतिवडाले भने ।

Published : Tuesday, 2024 September 3, 2:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया