संविधान र निर्देशिकालाई आधार बनाई राजदूत सिफारिस गरेका छौँ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदूत सिफारिस गरिएको बताएकी छिन् ।

मंगलबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिको बैठकमा डा.राणाले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित र कार्यसम्पादनमा आधारित बनाउन सरकार अधिकतम रूपमा प्रयासरत रहेको बताइन् ।

‘नेपालको संविधानको धारा २८२ अनुरूप राजदूत नियुक्ति गर्ने तथा सोका लागि राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ दफा ८ को (ग) बमोजिम राजदूतहरूको सिफारिस गर्ने व्यवस्था प्रचलनमा रहेको छ’, उनले भनिन् ।

‘संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्यसम्पादनमा आधारित बनाउन यो सरकार अधिकतम रूपमा प्रयासरत छ र रहनेछ’, परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।

राजदूत नियुक्त गर्दा कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट गर्ने नीतिलाई निरन्तरता दिइएको डा.राणाले बताएकी छिन् ।
सेवाबाहिरबाट नियुक्तिका लागि सिफारिस गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्ति अधिकतम उपयोग गर्ने गरी सिफारिस गरिएको उनले जानकारी गराइन् ।

उनले भनिन्, ‘राजदूतहरूको नियुक्तिमा राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तीमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई यसपटक निरन्तरता दिइएको छ । सेवाबाहिरबाट नियुक्तिका लागि सिफारिस गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्ति अधिकतम उपयोग गर्ने गरी सिफारिस गरिएको कुरा प्रस्ट पार्न चाहन्छु ।’

परराष्ट्रमन्त्री डा.राणाले भारत भ्रमणको क्रममा एयर रुटको बारेमा कुरा राखेको बताइन् । उनले भ्रमणका क्रममा टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको पनि बताएकी छिन् ।

Published : Tuesday, 2024 September 3, 2:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया