समिट अफ द फ्युचरमा नेपालका प्रधानमन्त्रीको सहभागिता हुनेगरी तयारी भइरहेको छ : मन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको बृहत्तर विकासमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् ।

मंगलबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.राणाले सामाजिक आर्थिक विकासका माध्यमबाट समाजको रूपान्तरणका लागि नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

मन्त्री डा.राणाले संयुक्त राष्ट्रसंघको महासभासँगै हुन लागेको समिट अफ द फ्युचरलाई नेपालले महत्व दिएको र सो समिटमा नेपालका प्रधानमन्त्रीको सहभागिता हुनेगरी तयारी भइरहेको बताइन् ।

समिटमा विश्वव्यापी सुशासन, बहुपक्षीयताको प्रवर्धन तथा अन्तर्राष्ट्रिय ऐक्यबद्धताका पक्षमा नेपाल रहेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

नेपालले आगामी सन् २०२६ सम्ममा ‘एलडिसी स्टाटस’ बाट माथि उठ्ने विषयमा तयारी गरिरहेको छ ।

यसका लागि नेपालले स्मुथ ट्रान्जिसन स्ट्राटेजी (एसटिएस) बनाएको बताउँदै मन्त्री डा.राणाले नेपालको यस एलडिसी ग्र्याजुएसन योजनालाई अपरिवर्तनीय एवं दिगो बनाउन पनि नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन् ।

नेपालले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्नका लागि सबै एकताबद्ध हुनुपर्ने उनले बताएकी छिन् ।

उनले गत महिना मात्रको एक प्रतिवेदनले नेपालका दिगो विकासका लक्ष्यहरूमध्ये ४१ प्रतिशत जति पूरा हुने बाटोमै रहेका देखाएकाले यसका लागि सबैको संयुक्त प्रयास जारी रहनुपर्ने बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपाल सधैँ बहुपक्षीयता, विधिको शासन, प्रजातन्त्र, समावेशी र समतामूलक अन्तर्राष्ट्रिय प्रणालीका पक्षमा रहेको बताएकी छिन् ।

नेपालले बहुपक्षीयता र विधिको शासनका पक्षमा अन्तर्राष्ट्रिय फोरमहरूमा गर्ने वकालतहरूमा नेपालको नागरिक समाजले पनि योगदान पु¥याउन सक्ने डा.राणाले बताएकी छिन् ।

Published : Tuesday, 2024 September 3, 5:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया