समयभित्रै सरकारको नेतृत्व छोड्छु, शेरबहादुरजी प्रधानमन्त्री भएर चुनावमा जान्छौं : ओली

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताबाट हटेपछि परिस्थिति भड्काउन खोजेको टिप्पणी गरेका छन् ।

ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा पोलिट व्यूरो बैठकमा ब्रिफिङ गर्नेक्रममा ओलीले भदौ ११ गते संसदमा प्रचण्डले गरेको सम्बोधन अराजकता निम्त्याउने खालको रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘सत्ताबाट हटेपछि प्रचण्डको काम असन्तुष्ट मान्छे उचाल्ने, परिस्थित भड्काउने देखिएको छ । जसरी बंगलादेश र श्रीलंकाको उदाहरण दिएर सदनमा बोल्ने काम भयो ।’

‘त्यो एउटा जिम्मेवार नेताले बोल्ने भाषा थिएन’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

ओलीले सामाजिक अराजकता निम्त्याएर भाँडभैलो गराउने प्रचण्डको चाहना पूरा नहुने बताएका छन् । उनले निर्धारित समयमै सरकारको नेतृत्व छाड्ने पनि बताएका छन् ।

ओलीले भने, ‘म निर्धारित समयभित्रै सरकारको नेतृत्व छोड्छु, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएर चुनावमा जान्छौं ।’

Published : Tuesday, 2024 September 3, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया