टोले गुण्डा ज्ञानुको ग्याङले धारिलो हतियार प्रहार गरेको घटना सेलाउन नपाउँदै बाँकेमा बन्दुकहरू बरामद

कोहलपुर । बाँके जिल्लामा गुण्डाहरूको बिगबिगी भइरहेका बेला प्रहरीले हतियारहरू बरामद गरेको छ ।

राप्ती सोनारी गाउँपालिका–४ कुम्भरस्थित कुम्भरदेखि बासखोली जाने बाटोबाट भरूवा बन्दुक २ थान बरामद भएको प्रहरीले जनाएको छ ।

सोही बन्दुकमा प्रयोग हुने बारूद र छर्रा बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बैजापुर बाँके समेतबाट खटिएको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा हातहतियार फेला पारी बरामद गरेको जनाएको छ ।

उता, डुडुवा गाउँपालिका–६ शिख्नपुरूवा बस्ने २४ वर्षीय लक्ष्मणसिंह शिखलाई भरूवा बन्दुक बनाउने विभिन्न सामान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शिखको घरमा भरूवा बन्दुक बनाउन प्रयोग हुने सामानहरू रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले घर तलासी गर्दा भरूवा बन्दुकको नाल १ थान, बनाउँदै गरेको भरूवा बन्दुकको चित्र भएको काठ २ थान, भरूवा बन्दुक बनाउन प्रयोग हुने नाल ४ थान, फलामको गज १ थान, छर्रा, बारूद र जंगली जनावरको खोपडी सहितको सिङ १ थान फेला पारेको छ ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

केही दिन अगाडि राप्ती सोनारी गाउँपालिकामा एमाले निकटका टोले गुण्डा ज्ञानु भनिने ज्ञानेन्द्रराज वली, नारायण डाँगीहरूको समूहले धारिलो हतियार प्रहार गरेर नेपाल तरुण दलका दुई कार्यकर्ताहरूलाई गम्भीर घाइते बनाएका थिए ।

ज्ञानुको समूहले बाँके जिल्लामा आतंक मच्चाइरहेको छ । ज्ञानुको समूहलाई प्रहरीले लामो समयदेखि उच्च निगरानीमा राख्दै आएको छ । चक्रे मिलनको समूहका ज्ञानु वलीको टोले ग्याङले बाँके जिल्लामा शान्ति सुरक्षामा चुनौती दिँदै आएको छ ।

Published : Wednesday, 2024 September 4, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया