पति-पत्नीबीच घरमा पानी हाल्ने कुरामा विवाद, दुई छोरीको हत्या, आमा पक्राउ

काठमाडौं । दुई जना बालिकाको हत्या गरी फरार रहेकी आमालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै छोरीहरू १ वर्षीया आईङ्का कार्की र ३ वर्षीया अर्पना कार्कीको हत्या गरी फरार रहेकी मोरङको सुन्दरहरैचा नगरपालिका–७ मालति टोल बस्ने २१ वर्षीया अस्मिता पौडेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सुन्दरहरैचा नगरपालिका–७ स्थित केरा बगानमा सोही नगरपालिका–७ मालती टोल बस्ने धनकुटाको पाख्रीबास नगरपालिका–५ घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू आईङ्का र अर्पनाको शनिबार दिउँसो शव फेला परेका थियो ।

घटनाका अनुसन्धानको क्रममा अर्जुनकी श्रीमती अस्मितालाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाको बिर्तामोड
नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ ऐभरेष्ट बैंक अगाडि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको छ ।

प्रारम्भीक अनुसन्धानको क्रममा अस्मिताले शुक्रबार साँझ आफ्नै श्रीमान् अर्जुन कार्कीसँग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि अस्मिताले दुई छोरीहरू साथमा लिई सुन्दरहरैचा नगरपालिका–७ स्थित केरा बगानमा लगि बिष सेवन गराई हत्या गरेको खुल्न आएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अस्मिता उपर मोरङ जिल्ला अदालतबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Wednesday, 2024 September 4, 5:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया