निर्वाचन पद्धतिमा परिवर्तन गरेर एउटै दलले बहुमत ल्याउने व्यवस्था गर्ने हो : कांग्रेस प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समावेशितामा सम्झौता नहुने गरी संविधान संशोधन हुने बताएका छन् ।

जनकपुरमा बुधबार वीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले कांग्रेस–एमालेबीचको ७ बुँदे सम्झौतामा एउटा संविधान संशोधन पनि रहेको बताए । उनले समावेशितालाई कमजोर गर्ने गरी संविधान संशोधन नहुने बताएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता डा.महतले नेकपा (माओवादी केन्द्र)ले जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरेको भनेर भ्रम छरिरहेको बताए ।

प्रवक्ता डा.महतले क्षेत्र आरक्षण गरेर प्रत्यक्ष निर्वाचनमार्फत पनि समावेशिता ल्याउन सकिने बताएका छन् ।

‘खासगरी माओवादीले यसलाई जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरिरहेको छ’, उनले भने, ‘समावेशितालाई कमजोर गर्न भनेर गरिरहेको छ ।’

डा.महतले भने, ‘गलत भाष्य, जनतामा भ्रम फैल्याउने कोसिस भएको छ । यो कदापि होइन । समावेशितामा कुनै कम्प्रमाइज हुँदैन । कुनै सम्झौता हुँदैन ।’

‘निर्वाचन पद्धतिमा परिवर्तन गरेर एउटै दलले बहुमत ल्याउने व्यवस्था गर्ने हो भने यसले स्थिरता दिन्छ’, डा.महतले भने, ‘प्रत्यक्ष निर्वाचनमार्फतबाट पनि समावेशिता ल्याउन सकिन्छ । यहाँ महिला–महिलाको बीचमा, दलित–दलितको बीचमा क्षेत्र आरक्षण गरेर प्रत्यक्षबाटै ल्याउन सकिन्छ ।’

प्रवक्ता डा.महतले भने, ‘यसरी हामी एउटै दलको बहुमत आउनसक्ने परिस्थिति पनि हुने र समावेशिता पनि कायम हुने गरी अघि बढ्नेछौँ ।’

Published : Wednesday, 2024 September 4, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया