लामाचौर भलिबलमा डायमण्ड, एपिएफ र पुलिसको जित

पोखरा । लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् ।

बुधबार पोखरामा महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका दुई खेल सम्पन्न भएपनि पुरुषतर्फ एक खेलमात्रै सम्पन्न भएको छ ।

महिलातर्फ टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ पुलिसले जित हासिल गरेको छ । पुरुषतर्फको अन्तिम खेल गण्डकी र एपिएफको भने प्रकाश अभाव (लाइट प्रोटेस्ट) कारण रोकिएको छ ।

पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा भएको महिलातर्फको खेलमा डायमण्डले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो ।

पहिलो सेटमा २५–१३ ले हराएको डायमण्डले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ ले नै हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो ।

दुइ खेलबाट डायमण्डको स्पष्ट ६ अंक छ । डायमण्डले यसअघि एभरेष्ट भलिबल क्लबलाई ३–० कै सोझो सेटमा हराएको थियो ।

दोस्रो खेलमा एपिएफले एभरेष्ट भलिबललाई ३–० कै सोझो सेटमा हराएको छ । एपिएफले पहिलो सेट २५–१० र दोस्रो सेट २५–११ को फराकिलो अन्तरले पाखा लगायो ।

अन्तिम सेटमा पनि एभरेष्टलाई २५–१३ ले हराउँन सफल भएको हो । योसंगै एपिएफको पनि स्पष्ट ६ अंक छ । गण्डकी र एभरेष्ट भने अंक विहीन रहेका छन् । चार टिम सहभागी प्रतियोगिता राउन्डरोविन लिगको आधारमा खेलाइएको छ ।

लिगका अनितम खेलहरू बिहीबार हुनेछन् । एपिएफ र डायमण्डले फाइनलको यात्रा सुरक्षित गरिसकेका छन् ।

पुरुषतर्फ भएको खेलमा नेपाल पुलिस क्लबले ट्राभल इन्क्वाइरी गलकोटलाई ३–० को सोझो सेटमा हराउन सफल भयो ।

पुलिसले गलकोटलाई पहिलो सेटमा २५–१२, दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२२ ले हराएको हो । दुई खेलमा जित हासिल गरेको पुलिसको ६ अंक छ । पुलिसले यसअघि गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

दिनको अन्तिम खेलमा गण्डकी र एपिएफ प्रतिस्पार्धा गर्दैगर्दा दोस्रो सेट सकिदा लाइटप्रोटेस्टका कारण खेल रोकिएको छ ।

खेलमा दुवै टिमले १–१ सेट जितेका थिए । गण्डकीले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट १९–२५ ले गुमाएको थियो ।

मंगलबारदेखी प्रतियोगिता सुरुभएपनि औपचारि उद्घाटन भने बुधबार भएको थियो । गण्डकी प्रदेशका डिल्लीराज भट्टले रेफ्रीलाई बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गरेका थिए । यस्तै रेफ्री संयोजक टहलसिंह थापा, नेपाल पुलिसकी खेलाडी विनिता बुढाथोकीले सपथ ग्रहण गरेकी थिइन् ।

Published : Wednesday, 2024 September 4, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया