प्रधान सेनापति शर्माको बिदाइ, सिग्देललाई झण्डा र छडी प्रदान

काठमाडौं । नेपाली सेनाले अवकासमा गएका प्रधान सेनापति प्रभुराम शर्माको बिदाइ गरेको छ । बुधबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित विशेष समारोहमा शर्मालाई बिदाइ गरिएको हो ।

करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधान सेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी यही मिति २०८१ भदौ २४ गतेबाट अवकाश प्राप्त गर्न लागेका शर्माको सम्मानमा जङ्गी अड्डामा विशेष समारोहका बीच बिदाइ कार्यक्रम सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

रक्षासचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधान सेनापति शर्माले पुर्‍याएको योगदान चीरकालपर्यन्त स्मरणीय रहने बताए ।

नयाँ प्रधान सेनापतिको रूपमा कार्यभार सम्हाल्न लागेका कायममुकायम प्रधान सेनापति अशोकराज सिग्देललाई बधाई दिँदै रक्षा मन्त्रालय र नेपाली सेनाबीच रही आएको सौहार्दपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र नतिजामुखी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने सचिव दंगालले बताए ।

कायममुकायम प्रधान सेनापति सिग्देलले शर्माको सन्तुलित जीवन तथा शालीन शैली, जटिल परिस्थितिहरूको बस्तुपरक ढङ्गबाट सामना गर्न सक्ने क्षमताबाट आफू ज्यादै प्रभावित भएको बताए । उनले नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पुर्‍याउन शर्माले प्रदर्शन गरेको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहने बताए ।

शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य साङ्गठनिक उपलब्धिहरू सम्पूर्ण सकलदर्जाको सामूहिक प्रयासबाट सम्भव भएको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले प्रधान सेनापति शर्मालाई सम्झना स्वरूप उपहार प्रदान गरेका छन् ।

यसअघि प्रधान सेनापति शर्माले कायममुकायम प्रधान सेनापति सिग्देललाई नेपाली सेनाको झन्डा, प्रधान सेनापतिको झन्डा तथा छडी हस्तान्तरण गरेका थिए ।

Published : Wednesday, 2024 September 4, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया