पक्राउ पर्ने समय नजिक आएपछि लामिछानेले भेटे ओली र देउवा, रास्वपाका नेताहरूको स्वर डाउन

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्ने सम्भावना बढेपछि बचाउका लागि राजनीतिक शक्तिकेन्द्र धाएका छन् ।

सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति र प्रहरीलाई बयान दिएपछि आपत्तिएका लामिछानेले प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एक्लाएक्लै भेट गरेका छन् । लामिछानेले ओली र देउवासँग सहकारीको रकम ठगी काण्डबाट बचाइदिन अनुरोध गरेको उच्च स्रोतले जनाएको छ ।

संसदीय समितिको म्याद १५ दिन थप भएको छ । समितिले आफ्नो प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश गरेपछि यो अधिवेशन अन्त्य हुनेछ । समितिको प्रतिवेदन आफू अनुकूल बनाइदिएर सहयोग गर्न लामिछानेले ओली र देउवासँग आग्रह गरेको स्रोतले जनाएको छ । समितिमा लामिछानेविरुद्ध सहकारीको रकम अपचलन र ठगी काण्डबारे प्रसस्त प्रमाणहरूसहित आएका छन् । समितिले लामिछानेलाई बचाउन सम्भावना निकै कम छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी र हिनामिना प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान शुरु गरेको छ । पोखराबाट डीएसपीको नेतृत्वमा टोली काठमाडौं आएर लामिछानेसँग लामो बयान लिएर फर्किएको छ । पोखरा प्रहरीले कुनै पनि बेला पूर्वगृहमन्त्री समेत रहेका सभापति लामिछानेलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउने सक्छ । पक्राउ पर्ने डरले तर्सिएका लामिछानेले ओली र देउवासँग भेट गरेको स्रोतको भनाइ छ । प्रहरीले पनि च्याप्दै ल्याएपछि लामिछानेको स्वर डाउन भएको अवस्थामा रहेका बेला ओली र देउवालाई भेट गरेर बचाउन अनुरोध गरेका छन् ।

लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रहेका बेला सूर्यदर्शन लगायतका सहकारीबाट करोडौं रकम अपचलन र ठगी गरेको अभियोग लामिछानेलाई लागेको छ । लामिछानेले सहकारीको रकम अपचलन र ठगी गरेको प्रमाणहरू सार्वजनिक भइसकेका छन् ।

सभापति लामिछानेले ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको स्रोतले जनाएको छ । ओलीले भेटेपछि लामिछानेले कांग्रेस सभापति देउवालाई पनि बुढानिलकण्ठस्थित निवासमै पुगेर भेट गरेका थिए ।

भदौ ८ गते चितवनमा रास्वपाका सभापति लामिछानेले ऋण लिएको प्रमाण देखाउँछु भन्नेले आफूलाई जवाफ दिन नसकेको बताएका थिए । लामिछानेले भनेका थिए, ‘सक्छौ भने मलाई थुन्न हत्कडी लगाऊ । यदि सक्दैनौं भने म तिमीहरूलाई यत्तिकै छाड्ने छैन । अल भर्सेज रास्वपा ।’

दोहोरो नागरिकता र राहदानी लिएको काण्डमा सांसद पद नै गुमाएका लामिछानेलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उन्मुक्ति दिन राहदानी र नागरिकता काण्डको मुद्दा फिर्ता लिएका थिए । यस पटक पनि लामिछानेले सहकारीको रकम अपचलन र ठगी काण्डबाट बच्न ओली र देउवाको शरणमा पुगेका छन् ।

रास्वपाका नेताहरूलाई जथाभावी बोल्न सभापति लामिछानेले प्रतिबन्ध लगाएका छन् । रास्वपाका नेताहरूले बेलगाम सरकार, कांग्रेस र एमालेका नेताहरूविरुद्ध बोल्दै आएका थिए । लामिछानेले ओली र देउवालाई भेट गरेपछि उनीहरूको स्वर डाउन भएको छ ।

Published : Wednesday, 2024 September 4, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया