रुपन्देही कांग्रसका नेताहरूद्वारा सियारी र शुद्धोधनका लागि योजना र बजेट माग

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले रुपन्देहीको दुई वटा पालिकाका लागि विकास निर्माणको माग लिएर लुम्बिनी प्रदेशका मन्त्रीहरूसँग भेट गरेका छन् ।

मंगलबार देउखुरीस्थित मन्त्रालयमा अर्थमन्त्री धनेन्द्र कार्की र उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेसँग अलग अलग भेट गरेर माग प्रस्तुत गरेका छन् । उनीहरूले दुई वटा पालिकामा बजेट निकै कम रहेको भन्दै योजना र बजेट राखिदिन आग्रह गरेको नेपाली कांग्रेसका नेता एवम् महासमिति सदस्य विमल ढकालले बताए ।

ढकालका अनुसार सियारी गाउँपालिका तथा शुद्धोधन गाउँपालिकाको विभिन्न वडाहरूको विकास तथा समस्याको समाधानको लागि लुम्बिनी प्रदेशका मन्त्रीहरूसँग भेट गरेर माग राखिएको बताए । उनले भने, ‘मन्त्रीज्यूहरूले शुद्धोधन र सियारी गाउँपालिकाका लागि योजना र बजेट दिने प्रतिवद्धता जनाउनुभएको छ । हामी आशावादी छौँ ।’

योजना र बजेटको माग गर्न कांग्रेसका महासमिति सदस्य ढकाल, सियारी गाउँपालिकाका कांग्रेस सभापति गोपाल पाण्डे, शुद्धोधन गाउँपालिकाका सभापति दामोदर पौडेल, शुद्धोधन गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष चन्द्रभान चौधरी, शुद्धोधन गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष उपेन्द्र सहानी, सियारी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष राजेश शाही लगायतका नेताहरूले मन्त्रीहरूलाई भेट गरेर बजेट माग गरेका थिए ।

Published : Wednesday, 2024 September 4, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया