सीआईबीद्वारा १७ वर्षपछि लक्ष्मण चौरसियालाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १७ वर्षपछि ४९ वर्षीय लक्ष्मण चौरसिया वरै भन्ने लक्ष्मणप्रसाद चौरसियालाई पक्राउ गरेको छ ।

मिति २०६४ साल वैशाख २५ गते राति ८ बजे प्रतिवादी लक्ष्मणप्रसाद चौरसिया समेतका चार जना व्यक्तिहरूले पर्साको साविक बहुअर्वा गाविस वडा नं. ५ बस्ने ढोडा मुखिया विनलाई निजको घरबाट जग्गाको विषयमा छलफल गर्ने भनी बोलाई चिउडो मुनी घाटीको भाग समेतमा पर्ने गरी कट्टा पेस्तोलले दुई राउण्ड गोली प्रहार गरी हत्या गरे गरेका थिए ।

मिति २०६४ भदौ २६ गते बिहान पर्साको साविक अमरपट्टी गाविस वडा नं. ६ मा मृतक व्यक्ति ढोडा मुखिया विनको शव फेला परेको थियो ।

वारदातमा मृतक ढोडा मुखिया विन र अर्को एकजना व्यक्तिले एउटै जग्गा खरिद गर्नका लागि एउटै जग्गा धनीलाई दिएको वैना रकमबाट उत्पन्न जग्गा खरिद तथा वैना रकम सम्बन्धी विवादका कारण सो रकम फिर्ता गर्न नपरोस भन्ने मनसायले जग्गा धनी समेतका प्रतिवादीहरूले मिलोमतो गरी गोली हानी ढोडा मुखिया विनको हत्या गरेका थिए ।

कर्तव्य ज्यान मुद्दामा वारदात पश्चात नेपालबाट भागी फरार भई रक्सौल, भारतमा लुकिछिपी बस्दै आइरहेका प्रतिवादी लक्ष्मणप्रसाद चौरसियालाई सीआईबीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भारतबाट नेपाल आउने क्रममा १७ वर्षपछि मिति २०८१ भदौ १९ गते पर्साको वीरगंज महानगरपालिका वडा नं. १६ बाट पक्राउ गरेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको सीआईबीले जनाएको छ ।

मृतकका भाइ नाता पर्ने गरिब मुखिया विनको जाहेरीले उल्लेखित वारदात भएको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले मिति २०६९ कात्तिक २४ गते प्रतिवादी लक्ष्मणप्रसाद चौरसियालाई साविक मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) नंवर बमोजिम सर्वस्वसहित जन्म कैद ठहर गर्दै फैसला गरेकोमा सो कार्यान्वयनको लागि निजलाई मिति २०८१ भदौ २० गते काठमाडौं जिल्ला अदालतमा पेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2024 September 5, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया