भारतबाट एनडीसी प्रतिनिधिमण्डलको नेपाल भ्रमण, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट

काठमाडौं । विदेशी मित्रराष्ट्रहरू अष्ट्रेलिया, भुटान, जापान, कजाकिस्तान, ओमान र अमेरिका तथा भारतका निजामती सेवा र रक्षाबलका २१ जना वरिष्ठ अधिकारीहरू सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६४औँ कोर्षको प्रतिनिधिमण्डलले नेपालको पाँचदिने भ्रमण गरेको छ ।

टोलीले भदौ १६ देखि २० गतेसम्म नेपाल भ्रमण गरेको हो । टोलीले भ्रमणका क्रममा उच्च तहको भेटघाट पनि गरेको छ ।

रियर एड्मिरल सन्दीप एस सन्धु, एनएम,सिनियर डाइरेक्टिङ्ग स्टाफ (भारतीय नौसेना)ले नेतृत्व गरिएको भ्रमण टोलीले प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र रक्षामन्त्री मानवीर राईसँग शिष्टाचार भेटवार्ता गरेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भ्रमण टोलीले नेपाली सेनाका कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल भएको थियो ।

टोलीले काठमाडौंस्थित नेपाली सेनाको मुख्यालय र पश्चिम पृतना हे.क्वा. को भ्रमण गरी रक्षा सहकार्य प्रवर्द्धन हेतु विभिन्न पक्षमाथि छलफल गरेको थियो ।

उच्च राष्ट्रिय निर्देशनतथा रणनीतिका व्यापक पक्षहरूबारे वरिष्ठ रक्षा र निजामती सेवा अधिकारीहरूका लागि भारतको राष्ट्रिय रक्षा महाविद्यालय विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरूमध्ये एक रहेको विज्ञप्तिमा उल्लेख ।

विदेशीमित्र राष्ट्रका सशस्त्र बलका अधिकारीहरू पनि कोर्षमा सहभागी छन् ।

हाल नेपाली सेनाका चार जना अधिकृतहरू यस प्रतिष्ठित कोर्षमा सहभागी छन् । नेपाली सेनाका निवर्तमान प्रधानसेनापति प्रभुराम शर्मासहित नेपाली सेनामा कार्यरत १५ जना अधिकृतहरू संस्थाका विशिष्ट पूर्व छात्र हुन् ।

राष्ट्रिय रक्षा महाविद्यालय, नयाँ दिल्लीबाट प्रशिक्षित भएका नेपाली सेनाका अधिकारीहरूले आ–आफ्नो विशेषज्ञताका क्षेत्रमा महत्वपूर्ण नियुक्तिहरू पाएका छन् ।

Published : Thursday, 2024 September 5, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया