महिलातर्फ एपीएफलाई लामाचौर कप भलिबलको उपाधि

पोखरा । लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपीएफले उचालेको छ ।

शनिबार लामाचौरस्थित ईन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा भएको फाइनल खेलमा टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो ।

पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल गर्‍यो तर, तेस्रो सेटमा भने निकै पछि प¥यो । डायमण्डका सुमित्रा रेग्मीले लगातार सर्भिसमा अंक ल्याएपछि १६–९ बाट २०–९ को स्थितिमा पुुगेको थियो । त्यसपछि डायमण्डले २५–१३ को जित हासिल गर्दै खेलमा फर्कियो । चौथो सेटमा भने एपिएफले पुनः लय समात्दै २५–१० ले हराउँदै उपाधि चुमेको हो ।

यसअघि लिगचरणको अन्तिम खेलमा न्यू डायमण्डले एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै तालिकाको शीर्षस्थानमा पुुगेको थियो ।

उपाधिसँगै एपिएफले नगद एक लाख ५० हजार रुपियाँ हात पारेको छ । उपविजेता न्यू डायमण्डले एक लाख एक सय ११ रुपियाँ हात पारेको छ । डायमण्ड गत वर्षको समेत उपविजेता हो ।

प्रतियोगितामा एभरेष्ट भलिबल क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । तेस्रो हुँदै एभरेष्टले ५० हजार एक सय ११ रुपियाँ हात पारेको छ । एभरेष्टले २५–१५, २५–२१ र २५–१७ ले हराएको थियो ।

पुुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा ट्राभल इन्क्वाईरी गलकोटले गण्डकी प्रदेशलाई सोझो सेटमै हराउँदै तेस्रो स्थान हासिल गरेको छ ।

यसअघि लिग चरणको खेलमा गण्डकीले गलकोटमाथि ३–२ सेटमा हराएको थियो । गलकोटले २७–२५, २५–२२ र २५–२२ ले हराउँदै ५० हजार एक सय ११ रुपियाँ प्राप्त गर्‍यो ।

भदौ १९ गतेदेखि चलेको प्रतियोगिताको महिलातर्फ ४ र पुरुषतर्फ ४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता राउन्डरोविन लिगको आधारमा खेलाइएको थियो ।

लिगका दुई शीर्ष टिम फाइनलमा प्रवेश गरेको थियो । गतवर्ष महिलातर्फ पुलिस र पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको थियो ।

Published : Friday, 2024 September 6, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया