छ देशमा काउन्सेलर र श्रम सहचारी नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदारको मुख्य रोजगारदाता ६ वटा देशका लागि नयाँ काउन्सेलर श्रम र श्रम सहचारी नियुक्ति दरखास्त आह्वान गरेको छ ।

शनिबार श्रम मन्त्रालयले सूचना जारी गरेर कतार, मलेसियाका लागि काउन्सेलर र नेपाली राजदूतावास अबुधाबी, नेपाली महावाणिज्य दूतावास साउदी जेद्दा, नेपाली राजदूतावास मलेसिया तथा ओमानका लागि श्रम सहचारीको माग गरेको छ ।

काउन्सेलर श्रम र श्रम सहचारीमा श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहत कार्यालय, राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषमा कम्तिमा एक वर्ष काम गरेको कर्मचारीले आवेदन दिन पाउँछन् ।

मन्त्रालय मातहत काजमा आएका कर्मचारीले आवेदन दिन पाउनेछन् । मन्त्रालयलमा दरबन्दी भई १ वर्षअघि काजमा गएका कर्मचारीले भने आवेदन दिन नपाउने व्यवस्था छ ।

नयाँ काउन्सिलर श्रम र श्रम सहचारीले अंग्रेजी भाषामा आईएलटीएस टेष्टमा ओभरअलमा ६ प्वाइन्ट, टोफल, पीबीटी, सीबीटीमध्ये कुनै परीक्षामा कम्तीमा ५१.७९ हासिल गरेको वा पीटीई परीक्षामा कम्तीमा ५१ अंक ल्याएको हुनुपर्नेछ ।

छनोट हुन ज्येष्ठता र अनुभवका लागि १५ अंक, अंग्रेजी भाषा ज्ञानका लागि १० अंक, व्यावसायिक कार्य योजना र प्रस्तुतीकरणका लागि १० अंक र सचिवको मूल्यांकनबापत ५ अंक गरी ४० पूर्णाङ्कको परीक्षामा बढी अंक प्राप्त हुन्छ । आवेदकलाई सचिवले ५ अंक दिनेछन् ।

Published : Friday, 2024 September 6, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया