कर्मचारीहरूको भ्रष्ट प्रवृत्तिले जनता आजित बनेका बेला ८६ हजारमा पनि सर्वोत्कृष्ट कर्मचारी फेला परेनन्

काठमाडौं । सरकारी कार्यालयका निजामती कर्मचारीहरूले सेवाग्राहीलाई अत्याचार गरिरहेका समाचार बाहिर आइरहेका बेला सरकारले २१औँ निजामती दिवस मनाउन लागेको छ ।

शनिबार मनाउन लागिएको दिवसमा सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी पाएको छैन । उत्कृष्ट निजामती कर्मचारी भनेर सरकारले जबरजस्त रुपमा केही कर्मचारीलाई उत्कृष्ट कर्मचारीको पुरस्कार दिनेछ ।

निजामती सेवामा ८६ हजार कर्मचारी छन् । सरकारले एकजना पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेट्न सकेको छैन ।

योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यो वर्ष पनि कसैलाई दिएको छैन ।

शुक्रबारअपराह्न निजामती पुरस्कार सिफारिस छनोट समितिको बैठक बसेको थियो । बैठकपछि संघीय मामिला तथ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले यस वर्ष सर्वोत्कृष्ट निजामती पुरस्कार कसैलाई नदिने बताएका छन् ।

यो वर्ष २० कर्मचारीले निजामती सेवा पुरस्कार र २० ले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेछन् ।

सर्वोत्कृष्ट पुरस्कार दुई लाख रुपियाँको छ । २०७३ सालमा शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार हालसम्म चारजनाले मात्रै पाएका छन् ।

२०६८ सालमा तत्कालीन परीक्षा नियन्त्रक सूर्य गौतम, २०६९ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन सचिव भगवतीकुमार काफ्ले र २०७० मा उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त भाइकाजी तिवारीले पुरस्कार हात पारेका थिए ।

भ्रष्टाचारमा संलग्न रहेको भन्दै दैनिकरुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारीहरूलाई रंगेहात पक्राउ गरिरहेको बेला सरकारले निजामती दिवस मनाउन लागेको छ ।

निजामती कर्मचारीहरूले दिने सेवाबाट सेवाग्राहीहरू सन्तुष्ट छैनन् । निजामती कर्मचारीहरूको घमण्ड, अहँकार र उनीहरूको व्यवहारबाट सेवाग्राहीहरू आजित छन् ।

Published : Saturday, 2024 September 7, 7:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया