मोहन बस्नेतद्वारा पेश गरिएको कक्षा १२ सम्मको निःशुल्क शिक्षाको प्रस्ताव कांग्रेसद्वारा सर्वसम्मत पारित

काठमाडौं । नेपाली कांग्रेसले कक्षा १२ सम्मको शिक्षा निःशुल्क बनाउने निर्णय गर्दै कार्यान्वयनका लागि सरकारसँग प्रस्ताव गरेको छ ।

वीपीनगर, ललितपुरमा भदौ १६ गते बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क बनाउन प्रस्ताव गरेका थिए । बस्नेतको प्रस्तावलाई कांग्रेसले निर्णय गर्दै सरकारलाई पचात्रार गर्नेछ ।

कांग्रेसको १० नम्बरको निर्णयमा भनिएको छ, ‘यस वर्ष प्रकाशित एसइई र कक्षा १२ को परीक्षाफलमा अधिकांश विद्यार्थी अनुत्तीर्ण भएको परिस्थितिलाई नेपाली कांग्रेसले गम्भीर चिन्ताको रूपमा लिएको छ । राष्ट्रको सर्वाङ्गीण विकासका लागि किशोर किशोरीको शिक्षा र रोजगारीमा विशेष ध्यान दिनु पर्ने कुरामा हाम्रो अटुट विश्वास छ । बिग्रदो शैक्षिक अवस्थालाई सुधार गरी स्वदेशमै सर्वसुलभ र गुणस्तरीय शिक्षा तथा रोजगारीका अवसर निर्माण गर्न नेपाली कांग्रेसले विषय विज्ञ एवं सरोकारवालाहरूको परामर्शबाट गरी विद्यालयदेखि विश्वविद्यालयसम्मको समयसापेक्ष ‘शिक्षा नीति’ निर्माण गर्नेछ । विद्यालय शिक्षा पूर्ण रुपमा निःशुल्क बनाउने र वर्तमान शिक्षा क्षेत्रमा देखिएका तमाम समस्या समाधानका लागि उचित कदम चाल्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।’

पूर्वमन्त्री समेत रहेका नेता सिन्धुपाल्चोकमा कक्षा १२ सम्म निःशुल्क शिक्षाको अभियान नै चलाएका छन् । बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा कक्षा १२ सम्म निःशुल्क शिक्षा छ । बस्नेतले ०४२ सालदेखि ३२ वर्षसम्म तत्कालीन समयमा एसएलसी परीक्षाको तयारीका लागि कोचिङ सेन्टर निःशुल्क चलाएका थिए । उनले अहिले पनि सम्पूर्ण शिक्षा निःशुल्क होस् भनेर अभियान चलाइरहेका छन् । त्यसको शुरुवात आफ्नो गृहजिल्लाबाट चलाएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिबाट नै आफ्नो प्रस्तावलाई पारित गराएर नेता बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क र विश्वविद्यालयको शैक्षिक सुधारका लागि निर्णय गराएका हुन् ।

नेता बस्नेतले भदौ १६ गतेको बैठकले देशको शैक्षिक अवस्थालाई ध्यानमा राखी आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले बस्न नसकेर पटक पटक जाँचमा छिर्न नपाएर आत्महत्या गरेका, फि तिर्न नसकेर आत्महत्या गरेका केशहरू धेरै बढ्दै गएको परिस्थिति रहेको भन्दै चिन्ता जनाएका थिए ।

उनले भने, ‘कांग्रेसको बैठकमा मैले ११ र १२ कक्षासम्मको पढाइमा राज्यले निःशुल्क गर्नुपर्छ, एसईई जस्तै भनेर प्रस्ताव राखेको थिएँ । त्यो प्रस्ताव पास भयो ।’ नेता बस्नेतले सभापति शेरबहादुर देउवा र कार्यसमितिप्रति विशेष आभार प्रकट गरेका छन् ।

‘सरकारलाई ११ र १२ कक्षाको शिक्षा निःशुल्क गर्नको लागि कांग्रेसले निर्णय गरेको प्रस्तावलाई कार्यान्वयन गर्न चिठ्ठी लेख्ने पनि भनिएको छ’, उनले भने, ‘यो प्रस्तावलाई कार्यान्वयन गराउन हामी सबै लाग्छौं ।’

बस्नेतले भने, ‘तत्कालीन समयमा एसएलसीसम्म निःशुल्क हुनुपर्छ भनेर नेपालमा पञ्चायतकालदेखि मैले नै सिन्धुल्पाचोकमा अभियान शुरु गरेको हुँ । हामीले अभियान मात्रै शुरु गरेनौं सिन्धुपाल्चोकका सबै एसएलसी परीक्षा दिने विद्यार्थी र छिमेकी जिल्लाका जेहेनदार, आर्थिक अवस्था कमजोर भएका विपन्न जो चाहिँ हाम्रा नेपाली कांग्रेसका साथीहरू वा अरु कोही आएर सिफारिस गरेको अवस्थामा उनीहरूलाई पठाउने व्यवस्था २०४१ सालदेखि २५ वर्षसम्म निरन्तर काम ग¥यौं ।’

‘११ र १२ कक्षा पनि निःशुल्क हुनुपर्छ भनेर मैले प्रस्ताव अगाडि बढाएँ’, नेता बस्नेतले भने, ‘प्रस्ताव अगाडि मात्रै बढाएको छैन सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिकाले दुई वर्षदेखि निरन्तर ११ र १२ कक्षाको पढाइ निःशुल्क गरेको छ ।’

उनले भने, ‘अहिले एसईईको रिजल्ट पनि कमजोर, ११ र १२ कक्षाको रिजल्ट पनि कमजोर, धादिङमा एकजना विद्यार्थीले १ वर्ष अगाडि १२ कक्षाको जाँच फी २२ सय रुपियाँ तिर्न नसकेर उसले आत्महत्या गरेको थियो । यस्ता घटना धेरै छन् । विपन्न र गरिव धेरै छन् । पढाउन सक्ने परिवार अझै छैनन् । पैसा नभएको कारणले पढ्न समस्या छ ।’

Published : Saturday, 2024 September 7, 8:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया