सरुवा र काज जान लागेका ईन्स्पेक्टरहरूलाई आईजीपी कुँवरद्वारा निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले इमानदारिता, पारदर्शिता, व्यावसायिक निष्ठा र सकारात्मक मनोवृत्तिका साथ संगठनको नीति एवम् प्राथमिकतालाई केन्द्रबिन्दुमा राखेर नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाउन निर्देशन दिएका छन् ।

सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्र जान लागेका प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै कुँवरले उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताए ।

कुँवरले सांगठनिक शुद्धीकरण र सुदृढीकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यावसायिकता झल्काउने गरी नागरिकको आँखामा अब्बल प्रहरीको छाप बनाउनुका साथै उर्जाशील एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैलाई उत्प्रेरित गर्दै काम गर्न निर्देशन दिए ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका छन् ।

Published : Sunday, 2024 September 8, 2:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया