रोल्पा र डडेल्धुराका दुई केटाहरु पक्राउ

काठमाडौं । क्यानडा र इटाली पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको कलंकी बस्ने रोल्पाको माडी गाउँपालिका–१ जवाड घर भएका २९ वर्षीय रणबहादुर घर्ती र काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ घर भएका ३४ वर्षीय कर्णसिंह साउद रहेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउमध्ये रणबहादुरले क्यानडा पठाइदिन्छु भन्दै ८ जना पीडितबाट १ करोड ६५ लाख रूपियाँ र कर्णसिंहले इटाली पठाइदिन्छु भन्दै ८ जना पीडितबाट ९ लाख रूपियाँ लिई सम्पर्कविहीन भएको आरोप छ ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रणबहादुरलाई काठमाडौं महानगरपालिका–१६ बनस्थलीबाट र कर्णसिंहलाई काठमाडौं महानगरपालिका–२८ बागबजारबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2024 September 11, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया