सिलवाललाई चीन जान अनुमति, खानेपानी आयोजनामा दरबन्दी दिने निर्णय

काठमाडौं । सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट करिब ९ अर्ब ४५ करोड रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ ।

सिंहदरबारमा शुक्रवार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ऋण सहायता स्वीकार गर्ने र वित्तीय सम्झौतामा हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अनुमति दिने निर्णय गरेको बताए ।

सरकारले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युत् ट्रान्समिसन तथा वितरण आयोजनाको कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायताका सरकारले अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

मन्त्री गुरुङले भने, ‘सरकारले जर्मनीको बर्लिनमा आयोजना हुने वर्ल्ड हेल्थ समिट २०८१ को असोज २९ देखि कार्तिक १ गतेसम्म इटालीको रोममा आयोजना हुने ह्याण्ड इन ह्याण्ड एचआईएस इन्भेष्टमेण्ट फोरममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीलाई स्वीकृति प्रदान गरेको छ ।’

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवाललाई २०८१ असोज ८ देखि ११ सम्म चीनको बेइजिङमा आयोजना हुने फिप्थ प्लेजनरी मिटिङ अफ दि ग्लोबल अप्रेशनल नेटवर्क अफ एनटी करप्शन ल इन्फर्समेन्ट अथोरिटिज नेटवर्कमा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

सरकारले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यान्वयन कार्यालय लगायतका आयोजनामा आर्थिक वर्ष २०८१।०८२ को लागि २१० अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

सरकराले काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.३ क्षेत्रफल ५–१४–०–० रोपनी सरकारी जग्गा बालुवा स्वास्थ्य चौकीको भवन निर्माणका लागि गोकर्णेश्वर नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिएको छ ।

हुलाकी राजमार्ग चितवन खण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागढी सडकको स्याफ्रुवेसी बजार खण्डमा ११ मिटर चौडाइमा सडक निर्माण गर्न स्वीकृति दिएको मन्त्री गुरुङले बताएका छन् ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनासमेतका आयोजना/योजनामा ३५१ राजपत्राङ्कित अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको पनि मन्त्री गुरुङले बताएका छन् ।

Published : Friday, 2024 September 13, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया