मन्त्री राणाद्वारा कम्युनिस्टका झण्डै २ सय कार्यकर्तालाई कांग्रेसमा स्वागत

जुम्री । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले एमाले, माओवादी केन्द्र, नेकपा (मसाल)लगायतका दलका झण्डै दुई सय कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।

सोमबार गृहजिल्ला प्यूठानको जुम्रीमा नेपाली कांग्रेस प्यूठानले बधाई तथा सम्मान दिन आयोजना गरेको कार्यक्रममा प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत रहेका मन्त्री राणाले विभिन्न कम्युनिस्ट पार्टीका झण्डै २ सय कार्यकर्तालाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन् ।

प्यूठान कांग्रेसका सभापति विष्णु गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री राणाले नवप्रवेशीहरुलाई सदस्यता प्रदान गरेको उपसभापति देवेन्द्र बर्माले बताएका छन् । मन्त्री राणाले नवप्रवेशीहरुलाई कांग्रेसको संगठन निर्माणमा लाग्न निर्देशन दिँदै समय आएपछि उनीहरुलाई उपयुक्त जिम्मेवारी दिइने पनि बताएका छन् ।

प्यूठान जिल्लामा ३ दशकपछि कांग्रेसले जितेको छ । कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित राणा दोस्रो पटक मन्त्री बनेका छन् ।

दोस्रो पटक मन्त्री बनेपछि गृहजिल्ला प्यूठान आएका राणाले नवप्रदेशीहरुलाई कांग्रेसमा प्रवेश गराएका हुन् । नवप्रवेशीहरुले कांग्रेसले नै प्यूठानको विकास र भविष्य दिन सक्ने भन्दै आफूहरु प्रवेश गरेको बताएका छन् ।

कांग्रेस प्रवेश गर्नेहरुमा युवाहरु धेरै छन् । त्यसपछि महिलाहरु छन् । उनीहरुले कांग्रेसको नीति र निर्देशनमा रहेर ईमान्दारिताका साथ काम गर्ने बताएका छन् ।

Published : Monday, 2024 September 16, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया