परराष्ट्रमन्त्री डा.राणा क्यानाडा प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा क्यानाडा प्रस्थान गरेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणा सोमबार साँझ क्यानाडा प्रस्थान गरेकी हुन् । टोरन्टोमा सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

परराष्ट्रमन्त्री डा.राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले विदाइ गरेका छन् ।

क्यानाडा र जमैकाद्वारा आयोजित सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभगी हुने कार्यक्रम रहेको छ ।

सम्मेलनमा परराष्ट्रमन्त्री डा.राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरुमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बैठकपछि परराष्ट्रमन्त्री डा.राणा अमेरिका प्रस्थान गर्नेछिन् । उनी अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछिन् ।

महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदैछ । अमेरिकामा रहँदा परराष्ट्रमन्त्री डा.राणाले विभिन्न फोरमहरुलाई सम्बोधन गर्ने र द्विपक्षीय भेटवार्तामा सहभागी हुनेछन् ।

परराष्ट्रमन्त्री डा.राणा अमेरिकाबाट कतारको दोहा प्रस्थान गर्नेछिन् । उनी दोहामा आगामी अक्टोबर २ र ३ मा आयोजित एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने कार्यक्रम रहेको छ ।

सम्मेलनलाई परराष्ट्रमन्त्री डा.राणाले सम्बोधन गर्नेछिन् । मन्त्री डा.राणा आगामी अक्टोबर ४ मा स्वदेश फर्किनेछिन् ।

Published : Monday, 2024 September 16, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया