अध्यक्ष लिङ्देनकाे नाजायज कदम, राप्रपाभित्र भाँडभैलाे
काठमार्डौ । विधान मिचेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई लोकसेवा आयोग बनाउन दुष्प्रयास गरिएको भन्दै राप्रपामा विरोध र असन्तुष्टि सार्वजनिक भएको छ । युवाहरूलाई पार्टीमा भूमिका दिने बहानामा अध्यक्ष राजेन्द्र लिङ्देनको आलोकाँचोपन छताछुल्ल भएको राप्रपाका नेताहरूको भनाइ छ ।
‘अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान पढेका छैनन् भनेर कसरी भन्ने ? यसो भन्न मनले नमाने पनि समस्या यस्तै देखिएको छ । पार्टी विधानमा अन्तर्वार्ता लिएर केन्द्रीय सदस्य छनौट गर्ने प्रावधान कहीँ छैन । केन्द्रीय सदस्य विधानतः कि निर्वाचित हुन्छन् नत्र मनोनीत’, राप्रपाका एक केन्द्रीय नेताले भने ।
‘अध्यक्षले केन्द्रीय सदस्य छनौट गर्ने नाजायज कदम उठाएर विधानमाथि ठाडो चुनौति दिएका छन् । त्यसैले अध्यक्षलाई कि त अप्रजातान्त्रिक मान्नुपर्यो नत्र अनपढ वा आलोकाँचो भन्नुपर्यो । जे भए पनि अध्यक्षले जग हसाउने काम गरेका छन्, छनौटमा परेका २० युवाहरुको पनि मानमर्दन गरेका छन्,’ ती नेताले भने ।
राप्रपाको विधानमा छनौट समितिले नभएर केन्द्रीय कार्यसमितिले केन्द्रीय सदस्य मनोनयन गर्ने व्यवस्था छ । हुन पनि कुनै पनि प्रजातान्त्रिक पार्टीमा छनौट समितिले केन्द्रीय समिति छनौट गर्ने प्रक्रिया हुँदैन । राप्रपाको विधानमा केन्द्रीय सदस्य निर्वाचित वा मनोनीत हुने व्यवस्था छ । विधान छनौट हुने व्यवस्था कहीँ छैन ।
राप्रपाले ४० वर्षमुनिका २० जना केन्द्रीय सदस्य “छनौट” गरेको भनेर मंगलबार पार्टी प्रवक्ताले प्रेस विज्ञप्ति निकालेपछि कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखान व्यवहारमा चरितार्थ भएको छ । राप्रपाकै विज्ञप्तिले छनौटमा परेका २० केन्द्रीय सदस्यहरुको वैद्यतामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ ।
राप्रपाको विज्ञप्तिमा १० पुरुष र १० महिलाहरु केन्द्रीय सदस्य मनोनित गरिएको उल्लेख छैन । पार्टी विधानको कुनै धारा वा प्रावधान कोट गरिएको छैन ।
प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख भए जस्तो, लोकसेवा आयोगले जस्तो अन्तरवार्ता लिएर सदस्य छनौट गर्ने अधिकार र प्रावधान राप्रपाको वैद्यानिक व्यवस्था होइन । यसै सन्दर्भमा राप्रपाका युवा नेता राजु लोहनीले सामाजिक संजालमा भनेका छन्, ‘अब पार्टी भन्ने शब्द निकाली राष्ट्रिय प्रजातन्त्र लोकसेवा आयोग भनेर साइन बोर्डमा नाम राख्दा कसो होला ?’
अध्यक्ष लिङ्देनले सल्लाह लिने र उनलाई घेरेर बस्ने जमातले नै उनलाई यसरी दिनानुदिन सिध्याउन लागीपरेको चर्चा राप्रपाभित्र व्यापक छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया