अचानक ढलेका शारीरिक सुगठनका राष्ट्रिय खेलाडी राईको निधन

काठमाडौं । शारीरिक सुगठनका राष्ट्रिय खेलाडी प्रकाश राईको निधन भएको छ ।

पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता राईको बुधबार निधन भएको हो ।

मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ निवासी राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता थिए ।

मोरङको फोनिक्स फिटशालाबाट सहभागी बन्न राई काठमाडौं आएका थिए । टोखा नगरपालिका–६ स्थित ग्रीनल्यान्ड होटलमा बस्दै आएका उनी बुधबार बिहान ६ बजेतिर अचानक ढलेका थिए ।

उपचारका लागि नजिकैको ग्रान्डी अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ ।

राईको निधनको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त महाराजगन्जले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

Published : Wednesday, 2024 September 18, 1:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया