संघीयताको मर्मअनुसार सम्पूर्ण कार्य र प्रशासनिक संघीयताका कामहरु सम्पन्न भइसके : मन्त्री राणा

मसुरिया । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले नेपालको संविधान जारी भए पश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै हाल संघ, प्रदेश र स्थानीय तहमा विभाजन भाई दुई पटकसम्म सबै तहका आवधिक निर्वाचनहरु सम्पन्न भएको बताएका छन् ।

संविधान दिवसका अवसरमा बिहीबार देउखुरीको मसुरियामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री राणाले संघीय संरचनाअनुसारको कार्य सम्पादन गर्ने अभ्यास नवीन भएकाले प्रथम कार्यकाल सबै तहका सरकारहरुको सिकाई र अनुभवहरु ग्रहण भइसकेको बताए ।

उनले भने, ‘राजनीतिक संघीयताको मर्मअनुसार सम्पूर्ण कार्यहरु सम्पन्न भइसकेका र प्रशासनिक संघीयताका कामहरु समेत सम्पन्न भई सकेका छन् ।’

‘यसले गर्दा संस्थागत तथा संरचनात्मक सुदृढ हुँदै गएका छन् । संविधानले निर्दिष्ट गरेका अनुसूची ६ मा उल्लेख भएका प्रदेशका एकल अधिकार क्षेत्रका थुप्रै कानूनहरु निर्माण भई कार्यान्वयनमा रहेका छन्’, मन्त्री राणाले भने ।

उनले भने, ‘अनुसूची ७ मा उल्लेखित संघ प्रदेशका साझा अधिकार सूचीभित्रका कानूनहरु पूर्णरुपमा नबन्दा अझै केही दुविधा भने विद्यमान छ ।’

मन्त्री राणाले भने, ‘संविधानको पूर्ण कार्यान्वयन गर्दै नागरिकका हक अधिकार सुरक्षित गर्दै विकास र सुशासनको प्रतिफल आमनागरिकसम्म पुराउनु हामी सबैको कर्तव्य हुन आएको छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना गरी नागरिकको जीवनस्तरमाथि पुराउने कार्यलाई पूरा गर्न राजनीतिक ईमान्दार नेतृत्व, राजनैतिक दलमा एकबद्धता एवम् समन्वय र सहकार्य स्थिरता, सुशासन, समृद्धिबाट मात्रै सम्भव छ ।’

Published : Thursday, 2024 September 19, 10:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया