पुलिसबिनाको प्रदेश सरकार हुन सक्दैन, केन्द्रको नीतिले पार लाग्दैन : कांग्रेस नेता चौधरी

मसुरिया । लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधान संशोधनको कुरा भइरहेका बेला संविधान दिवस मनाइरहेको भन्दै पहिला संविधान कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

बिहीबार देउखुरीको मसुरियामा संविधान दिवसमा अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संसदीय दलका नेता चौधरीले भने, ‘संविधान संशोधनका बीचमा हामीले संविधान दिवस मनाएका छौँ । दुई वटा ठूला दलहरुले संविधानमा रहेका केही कमजोरीहरुलाई सच्याउँदै जानुपर्छ भनेर सात बुँदे सहमतिमा एउटा बुँदा संविधान संशोधन पनि हो ।’

उनले भने, ‘हामीले बिचार के गर्नुपर्छ भने पहिला संविधान लागू गर्नुपर्छ । प्रदेशले नपाएका अधिकारहरु, संविधानमा लेखिएका अधिकारहरु जबसम्म लागू गर्न सक्दैनौँ हामीले औचित्य पुष्टि गर्न सक्दैनौं ।’

कांग्रेस नेता चौधरीले पुलिसबिनाको प्रदेश सरकार रहेको भन्दै संविधानले दिएको अधिकारअनुसार प्रदेश सरकारलाई पुलिस दिनुपर्ने बताए ।

‘प्रदेशको कानून बनाउनु छ । विना पुलिसको प्रदेश सरकार हुन सक्दैन’, चौधरीले भने, ‘सरकार भन्ने हातखुट्टा बाँधेर पौडी खेल्न नदीमा छोडिदिने जुन केन्द्रको नीति छ त्यो नीतिले यो संविधानले पार पाउनुपर्छ ।’

प्रश्न गर्दै उनले भने, ‘संविधान दिवस मनाउँदै गर्ने संविधान लागू गर्न नसक्ने अवस्थामा पुगेका हौँ त ? संविधानलाई छाडेर हामी अर्को मार्गतिर लागेका हौँ त ? यो प्रश्न छ । यो प्रश्नको उत्तर हामीले खोज्नुपर्छ ।’

उनले भने, ‘संविधानले हामीलाई धेरै अधिकार दिएको छ । समावेशीको अधिकार दिएको छ । जनता र नेता धेरै नजिक होउन् भनेर प्रदेश सरकारको कल्पना गरिएको छ ।’

‘यो कल्पना पूरा गर्नको लागि संविधान भरपूर रुपमा यसलाई उपयोग गर्न सक्नुपर्छ भन्ने कुरा यो संविधानमा देखिएका कुरा हुन्’, चौधरीले भने, ‘विगत ९ वर्षमा हामीले संविधानलाई अगाडि बढाउन सकेका छैनौं ।’

Published : Thursday, 2024 September 19, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया