इलाका प्रहरी कार्यालय रामपुरद्वारा जनप्रतिनिधि, दलका प्रतिनिधि, पूर्वप्रहरीहरूसँग छलफल
रामपुर । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाका कार्यालय प्रमुख प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रामबहादुर नेपालीले आफ्नो क्षेत्रको शान्ति सुरक्षा र नागरिकको सेवाका विषयमा वडाध्यक्षहरू, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा पूर्वप्रहरीहरूसँग छलफल गरेर रायसुझाव लिएका छन् ।
बिहीबार पाल्पाको रामपुरस्थित इलाका प्रहरी कार्यालय परिसरमा ईन्स्पेक्टर नेपालीले रामपुर नगरपालिकाका १ देखि १० वटा वडाका वडाध्यक्षसहितका जनप्रतिनिधिसँग शान्ति सुरक्षा र जनताको सेवालाई लिएर छलफल गरेका हुन् । वडाध्यक्षहरूले दिएको सुझावका आधारमा आफूले शान्ति सुरक्षा बनाइ जनताको सेवा गर्ने प्रतिवद्धता जनाएका छन् ।
ईन्स्पेक्टर नेपालीले शान्ति सुरक्षा बनाउन, अपराध नियन्त्रण लगायतका विषयमा स्थानीय जनताको सहयोगमा मात्रै प्रहरीले गुणस्तरीय सेवा दिन सक्ने भन्दै जनताको सेवा गर्न आफूहरू २४सैँ घण्टा सक्रिय रहने बताएका छन् ।
ईन्स्पेक्टर नेपालीले शान्ति सुरक्षा बनाउने र जनताको सेवा दिने विषयमा प्रहरीले कुनै पनि सम्झौता नगर्ने प्रतिवद्धता जनप्रतिनिधिहरूसँग गरेका छन् ।
छलफलमा राजनीतिक दलका नगर प्रतिनिधि, पत्रकारहरू लगायतको उपस्थिति रहेको थियो । आफ्नो कार्यालयको वडा एरियामा शान्ति सुरक्षा, अपराध रोकथामका विषयमा छलफल, राय सुझाव सहित परिचय तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको ईन्स्पेक्टर नेपालीले बताएका छन् ।
यसअघि, बुधबार इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी प्रमुख नेपालीले रामपुर नगरपालिका र निस्दी गाउँपालिकामा रहेका १६ जना भूतपूर्व प्रहरी कर्मचारीहरूसँग पनि परिचय तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
प्रहरी निरीक्षक नेपाली केही दिन अगाडि मात्रै इलाका प्रहरी कार्यालय रामपुरको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । उनले सबैसँग रायसुझाव लिएर आफ्नो कामलाई अगाडि बढाउन लागेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया