सत्ताबाट खुस्किएपछि प्रचण्डमा तनाब, मनगढन्ते कुरा बोल्न थाले

काठमाडौं । सत्ताबाट खुस्किएपछि निकै तनाबमा परेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनगढन्ते अभिव्यक्ति दिएर सत्तामा रहेका दलहरूप्रति आक्रोश पोखिरहेका छन् ।

दाहालका यी अभिव्यक्ति निकै पूर्वाग्रही देखिएका छन् । सत्तामा रहँदा र बाहिर रहँदा कति फरक पर्छ भन्ने कुरा दाहालका अभिव्यक्ति तथा गतिविधिले देखाइरहेको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले अहिले संसदमा विपक्षीहरूलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । उनको यो आरोपमा कुनै दम छैन ।

उनले संसदीय चुनाव लडिसकेपछि संख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वभाविक भएको बताएका छन् ।

अध्यक्ष दाहालले भने, ‘संसदीय चुनाव लडिसकेपछि संख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वभाविक छ ।’

‘संसदको शक्तिभन्दा पनि नेपाली राजनीतिको क्रान्तिकारी र ऐतिहासिक विरासत, बलिदानको गाथा र राजनीतिक विचार तथा एजेण्डाका हिसाबले अहिले पनि माओवादी नै बलियो शक्ति हो’, उनले भने ।

कार्यक्रममा दहालले कथित जनयुद्ध र त्यसमा मारिएका नेता कार्यकर्तालाई राष्ट्रिय शहीद भनेर बचाउ गरेका छन् । उनले कथित जनयुद्धको बचाउ गरेका छन् ।

‘अहिले पनि संसदमा बिपक्षीहरूलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको र पछिल्लो समय महान् जनयुद्धलाई हिंसात्मक कृयाकलापको रुपमा अर्थ्याइरहेका छन्’, दाहालले भने ।

दाहालले फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने मन्त्रिपरिषदबाट निर्णय गरिएको भए पनि अदालतबाट रोकिएको उनले बताए । अध्यक्ष दाहालले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताएका छन् ।

उनले जनयुद्ध दिवसको ऐतिहासिकतालाई थप स्थापित गर्न यसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन जनस्तरबाट दबाब सिर्जना गर्नुपर्ने बताएका छन् ।

Published : Saturday, 2024 September 21, 2:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया