गृहमन्त्री लेखकद्वारा रवि काण्डवाला प्रतिवेदन कार्यान्वयन गर्न आईजीपीलाई निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

आइतबार गृह मन्त्रालयमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र गृहसचिव गोकर्णमणि दुवाडीसँगको छलफलमा लेखकले संसदीय समितिको सहकारी सम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयनका लागि अगाडि बढाउन निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषदले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । मन्त्रिपरिषदले सहकारी सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।

गृहमन्त्री लेखकले आईजीपी कुँवरलाई तत्कालन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएको स्रोतले जनाएको छ ।

प्रतिवेदमा सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध ४ कसूरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

सार्वजनिक प्रतिवेदनले लामिछाने, गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको छ ।

सहकारी ठगी प्रकरण सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको कीर्तेसम्बन्धी दफा, संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ का कानून आकर्षित हुने प्रतिवेदनमा राखिएको छ ।

Published : Sunday, 2024 September 22, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया