सरकारले न्यूनतम साझा कार्यक्रमलाई पूर्णरुपमा कार्यन्वयनमा लैजान्छौं : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पत्रकार सम्मेलनमार्फत ६७ बुँदे साझा कार्यक्रममा सार्वजनिक गरेका हुन् । कार्यक्रममा योजना बैंक स्थापनादेखि प्रदेश प्रहरी र अनुसन्धान युनिट स्थापनास्म्म रहेको छ ।

कार्यक्रममा ३ वर्षमुनिको बालबालिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ सेवा उपलब्ध गराइनेछ ।

हाल देखिएको सहकारी समस्यालाई समाधान गर्नको लागि निर्माण गरिएको आयोगलाई नियमित काममा लगाउने पनि कार्यक्रममा उल्लेख छ ।

प्रदेशमा निर्माण भएका हिल स्टेसनलाई व्यवस्थित ढङ्गले संचालनमा ल्याउन सरकारले जोड दिने विषयलाई पनि न्यूनतम साझा कार्यक्रममा राखिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री लामाले सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन केही ढिला भएपनि ल्याइएको कार्यक्रमलाई पूर्णरुपमा कार्यन्वयनमा लैजाने बताएका छन् ।

प्रदेश सरकार निर्माण भएयता सरकारको विभिन्न क्रियाकलापमा सबैजना व्यस्त हुँदा कार्यक्रम केही ढिला आएको उनले बताए ।

मुख्यमन्त्री लामाले न्यूनतम कार्यक्रम अनुसार सरकारले द्रुत गतिमा काम गर्ने बताएका छन् ।

जनताको काम र सुशासनलाई सरकारले प्राथमिकतामा राखेको भन्दै विकास र सुशासनलाई प्रदेश सरकारले सँगै अघि बढाउने उनले बताएका छन् ।

एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेस–एमाले गठवन्धनको सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम अनुसारको काम सरकारले गर्ने बताएका छन् ।

अहिलेको गठवन्धन स्थायित्व र विकासको लागि निर्माण भएको भन्दै थपलियाले सरकारले सोही अनुसारको काम गर्ने बताए ।

Published : Sunday, 2024 September 22, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया