बौद्धमा काण्ड गर्ने चिनियाँ, भारतीय र सिन्धुपाल्चोकका केटाहरू पक्राउ
काठमाडौं । फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा चीनको तिब्बतस्थित आम्दो घर भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारी बस्ने २४ वर्षीय सोनाम तामाङ भन्ने सोनाम रहेका छन् ।
भारतको बिहार प्रदेश बेङलोरू घर भई हाल काठमाडौंको बौद्ध टुसाल बस्ने जाम्पा खेदुप, चीनको तिब्बतस्थित ल्हासा घर भई हाल काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने ३० वर्षीय नोर्बु साम्देन पनि पक्राउ परेका छन् ।
चीनको तिब्बतस्थित सिगाचे घर भई हाल काठमाडौंको बौद्ध टुसाल बस्ने २७ वर्षीय दासाङ, चीन सिचुआन प्रान्त, शिनिउ टाउन घर भई हाल काठमाडौं महानगरपालिका–२७ बस्ने ४५ वर्षीय चिनियाँ नागरिक वेई चुनलिन काठमाडौं महानगरपालिका–६ सिमलटार बस्ने २८ वर्षीय तेन्जिङ नोर्बु शर्पा र सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने ३५ वर्षीय लोप्साङ लामालाई पनि पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुली फूलबारी मार्गस्थित घरमा सोनम तामाङ समेतले संचालन गरेको गेम जोन लेखिएको सटरमा फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने/खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेलाउने उपकरणसहित पक्राउ गरेको छ ।
उनीहरूको साथबाट फिस सुट गेम खेलाउने उपकरण १ थान, नेपाली नगद १२ लाख १ हजार रूपियाँ, चाइनिज युआन ३ हजार १ सय, अमेरिकन डलर २ हजार र विभिन्न कम्पनीको मोबाइल ७ थान प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया