काठमाडौं प्रहरी परिषरका ईन्स्पेक्टर, हवल्दार र जवानलाई कारबाही सिफारिस
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका ईन्स्पेक्टर प्रतीक सिंह, सहायक हवल्दार गणेश खड्का र प्रहरी जवान साजन शर्मा चपाईंविरुद्ध कारबाहीको सिफारिस भएको छ ।
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेर छाडिएको घटनामा उनीहरूलाई कारबाही सिफारिस भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसी नेतृत्वको छानबिन समितिले कारबाही सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ ।
ईन्स्पेक्टरसहित ३ जनालाई कारबाही सिफारिस गरिएको प्रतिवेदन समितिले सोमबार एआइजी किरण बज्राचार्यलाई बुझाएको छ ।
हवल्दार खड्काले भदौको दोस्रो साता आशिष आचार्यलाई क्रिप्टो कारोबारको आरोपमा पक्राउ गरेका थिए ।
दुई दिन थुनामा राखेर आशिष आचार्यलाई छाडिएको थियो । आशिष आचार्यका परिवारले तेज तामाङ नामक व्यक्तिलाई ५० लाख रुपियाँ बुझाएका थिए ।
आशिष आचार्य र तेज तामाङ साथी हुन् । दुवैजना क्यानडामा सँगै बसेका थिए ।
तामाङले हवल्दार खड्कालाई सूचना दिई आशिष आचार्यलाई पक्राउ गर्न लगाएका थिए । पक्राउ परेपछि उनलै प्रहरीमा सेटिङ मिलाएर छुटाइदिने भन्दै पैसा असुलेका हुन् ।
५० लाखमध्ये ३५ लाख उनको बैंक खातामा जम्मा भएको खुलेको छ । बाँकी १५ लाख प्रहरीलाई दिएको हुन सक्ने आशंका गरिएको छ ।
आशिष आचार्यलाई छाड्दा परिसरका ईन्स्पेक्टर प्रतीक सिंहले गुडफेथमा छाडिएको बताएका थिए । आशिष आचार्य क्यानडा गइसकेका छन् ।
ईन्स्पेक्टर सिंहलाई विभागीय कारबाहीको सिफारिस भएको छ । हवल्दार खड्का र जवान चपाई दुवै मिलेर पैसा असुल्ने योजना बनाएको खुलेको छ । उनीहरूविरुद्ध भने मुद्दा चलाउन सिफारिस भएको बुझिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया