बाढीपहिरोमा परेकाहरूको उद्धार र राहतका लागि कांग्रेसद्वारा सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको अधिकांश भू–भागमा अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

शनिबार देउवाले विज्ञप्ति जारी गरेर अविरल वर्षाका कारण दर्जनौं व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको ठूलो क्षति भएको भन्दै चिन्ता जनाएका हुन् ।

उनले भने, ‘मानिसहरू वेपत्ता र घरवारविहीन भई विस्थापित हुनका साथै सयौं व्यक्तिहरू घाइते भएका छन् । राजमार्गका अधिकांश स्थानमा सडक मार्ग अवरुद्ध भएको छ ।’

‘सम्पूर्ण पीडितहरूको यो संवेदनशीलताप्रति नेपाली कांग्रेसको तर्फबाट सहानुभूति प्रकट गर्दै यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु’, सभापति देउवाले भने ।

‘यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरूले आवश्यक समन्वय र ब्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रित गर्न म आग्रह गर्दछु’, सभापति देउवाले भने ।

‘सम्पर्क विहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न नेपाली कांग्रेसको तर्फबाट सरकारसँग आग्रह गर्दछु’, सभापति देउवाले भनेका छन् ।

‘स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन पार्टीका तर्फबाट निर्देश गरिन्छ’, देउवाले भने ।

‘पार्टीका साथीहरूलाई ब्यवस्थित ढंगले प्रभावकारी रुपमा कार्य गर्न आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गर्दछु’, सभापति देउवाले भनेका छन् ।

उनले भने, ‘प्राकृतिक प्रकोपमा जीवन गुमाउनु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

Published : Saturday, 2024 September 28, 3:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया