पहिरोमा पुरिएर २५ जनाको मृत्यु, केहीको सनाखत हुन बाँकी
काठमाडौं । विभिन्न स्थानमा पहिरोले पुरिएर २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ मसिने बस्ने ७० वर्षीया थुनि माया तामाङको घर शनिबार बिहान पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । पहिरोले पुरिएर सोही घरमा बस्ने ३८ वर्षीय गर्ब तामाङ र उनकै श्रीमती ३६ वर्षीया सबिना तामाङको मृत्यु भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । घाइते भएकी थुनि माया र १२ वर्षीया बिनिसा तमाङको सतुङ्गलस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ ।
ललितपुरमा अविरल वर्षाको कारण गोदावरी नगरपालिका–१० टाखेल बस्ने मोहन सिंहको टहरो शुक्रबार राति पहिरोले पुरिँदा उनकै श्रीमती ५८ वर्षीय सानु चालिसेको मृत्यु भएको छ । पहिरोले पुरीएर गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोदावरी नगरपालिका–९ चुनिखेल बस्ने पाँचथर घर भएकी ४८ वर्षीया सुशीला लिम्बुको पहिरोले पुरिएर शुक्रबार राति मृत्यु भएको छ । आँगनमा उभिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिएर गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ललितपुर, महाङकाल गाउँपालिका–३ माथिल्लो गोटिखेल बस्ने राजकुमार सिङतानको घर शनिबार बिहान पहिरोले पुरिँदा उनकै छोरा २ वर्षीय संयम सिङतानको घटनास्थलमै मृत्यु भएको छ ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका–९ पलासे सूर्यमोड बस्ने कालीकोट सानीत्रिवेणी गाउँपालिका–५ घर भएका २४ वर्षीया बमिला शाहीको टहरा शनिबार बिहान पहिरोले बगाउँदा ३ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर बमिला शाही, उनकै बहिनी १४ वर्षीया मनीषा शाही र उनकै छोरी ४ वर्षीया श्रीया बमको मृत्यु भएको छ । पहिरोले टहरा बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।
काभ्रेको बेथानचोक गाउँपालिका–५ च्याल्टी बस्ने ४४ वर्षीय प्रेम बहादुर वाइवाको पहिरोले पुरिएर शुक्रबार बेलुकी मृत्यु भएको छ । च्याल्टी बजारबाट घरतर्फ जाँदै गरेको अवस्थामा सोही ठाउँस्थित सडकमा माथिबाट आएको पहिरोले पुरिएर उनको मृत्यु भएको छ ।
काभ्रेको बनेपा नगरपालिका–१० मयलटार बस्ने बिक्रम हुमागाईंको टहरो शनिबार बिहान पहिरोले पुरिँदा उनकै छोरा ६ वर्षीय युबिन हुमागाईंको मृत्यु भएको छ ।
पहिरोले पुरिएर गम्भीर घाइते भएका उनको भक्तपुर नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
काभ्रेको अविरल वर्षाको कारण बनेपा नगरपालिका–१४ थालचोक बस्ने ३१ वर्षीय मिलन तामाङको घर शनिबार बिहान पहिरोले पुरिँदा मिलन र उनकै छोरी ४ वर्षीया सुनिता तामाङको मृत्यु भएको छ । पहिरोमा ३ जना ब्यक्तिहरु बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । घाइते भएकी मिलनकी श्रीमती ३२ वर्षीया आईतेमाया तामाङको प्राथमिक उपचार भइरहेको छ ।
काभ्रेको पनौती नगरपालिका–२ ठारे बस्ने ६० वर्षीय सानुकान्छा तामाङको घर शनिबार बिहान पहिरोले पुरिँदा उनकै बुहारी ३६ वर्षीय कान्छी तामाङको मृत्यु भएको छ । पहिरोले पुरिएर ६ जना घाइते भएका छन् ।
काभ्रेको अविरल वर्षाको कारण भुम्लु गाउँपालिका–८ सिदरेचौर बस्ने २६ वर्षीय राम माझीको घर शनिबार बिहान पहिरोले पुरिँदा सोही गाउँपालिका–१ बस्ने उनकै ससुरा ५० वर्षीय गोबिन्द माझीको मृत्यु भएको छ । पहिरोले पुरिएर रामकी आमा ४५ वर्षीया बाटुली माझी बेपत्ता भएको र रामकी श्रीमती ३० वर्षीया राधिका माझी, छोरी १० वर्षीया शिखा माझी, छोरा ६ वर्षीय सिकिस माझी घाइते भएको भन्ने खबर हुनासाथ प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरीले घाइतेहरूलाई उद्दार गरी उपचारको लागि दोलालघाट पोलिक्लिनिक पठाएको छ भने हाल बेपत्ता बाटुलिको खोजी गरिरहेको छ ।
धादिङको धार्के गाउँपालिका–६ महादेवबेशी बजार बस्ने ४५ वर्षीय सानु राईको पहिरोले पुरिएर शनिबार बिहान मृत्यु भएको छ । आफ्नै टहरोमा पानी कटाउन गएको अवस्थामा माथिबाट आएको पहिरोले पुरिएर उनको मृत्यु भएको हो ।
धनकुटाको पाख्रीबास नगरपालिका–५ गुरासे देवीथान बस्ने सन्तोष तामाङको घर शनिबार बिहान पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर सन्तोषकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाको आमा ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको हो । घरमा राखेको सामान निकाल्ने क्रममा आशा र रामकुमारी पहिरोमा पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाख्रीवास समेतबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । साथै उक्त घरमा सामान निकाल्न जाने क्रममा घाइते भएकी २४ वर्षीया मिन माया तामाङलाई उपचारको लागि
जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको छ ।
पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीस्थित आदिवासी जनजाति महासंघको सामुदायिक भवन शनिबार बिहान पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर भवनमा सुतिरहेका फिदिम नगरपालिका–१२ बस्ने २४ वर्षीया सपना शेर्पा र उनकै छोरी ६ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको हो । पहिरोले भवन पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ च्यानेस्थित सिन्धुबीच रिसोर्टमा पहिरो जाँदा हाल नाम, थर, वतन नखुलेका २ जना पुरूषको पहिरोले पुरिएर शनिबार दिउँसो मृत्यु भएको छ । पहिरोले पुरिएर हाल बेपत्ता भएका अन्य २ जनाको प्रहरीले खोजी
गरिरहेको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कुने गाउँ बस्ने ४५ वर्षीय चित्रबहादुर मिजारको घर शनिबार दिउँसो पहिरोले बगाउँदा चित्रबहादुर र उनकै घरमा पाहुना आएका अविनाश नेपालीको हाल नाम, थर वतन नखुलेका ५ वर्षीय छोराको मृत्यु भएको छ
। पहिरोमा बेपत्ता भएका चित्रबहादुरकी श्रीमती ४५ वर्षीया ठूली कान्छी मिजार र अविनाशको प्रहरीले खोजी गरिरहेको छ ।
रामेछापमा अविरल वर्षाको कारण रामेछाप नगरपालिका–६ ज्यामिरेबोटस्थित गोठ शनिबार बिहान पहिरोले बगाउँदा सोही ठाउँ बस्ने ५१ वर्षीया धन माया मगरको मृत्यु भएको छ ।
मकवानपुरमा अविरल वर्षाको कारण बागमती गाउँपालिका–२ सल्लेरीस्थित घर शुक्रबार राति पहिरोले पुरिँदा सोही गाउँपालिका–३ सुक्खा सल्यनी बस्ने २० वर्षीया फूलमाया थिङको मृत्यु भएको छ ।
पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको शनिबार जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया