कांग्रेसद्वारा उद्धार, राहत र अबरुद्ध सडकहरू खुलाउन सरकारसँग अनुरोध, सहयोग गर्न पार्टी मातहतलाई निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षा, बाढी र पहिरोमा परेर केही दिनयता सयभन्दा बढीको मृत्यु, कयौं बेपत्ता र कयौं घाइते भएको घटनाले यतिबेला समस्त नेपालीलाई मर्माहत बनाएको भन्दै चिन्ता जनाएको छ ।
आइतबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको कार्यसम्पादन समितिको बैठकले समग्र घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगतहरूको आत्माको शान्तिको कामना गरेको छ । कांग्रेसले शोकमा परेका परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बेपत्ताहरुको खोजिमा हरसम्भव प्रयास तीब्र ढंगले गर्न सरकारको ध्यानाकर्षण गराउँदै, सबै घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध गर्न माग गर्दछ ।’
‘कयौं नागरिक अझैपनि देशको विभिन्न भागमा उद्धारको प्रतीक्षामा रहेको खबर आएका छन्’, कांग्रेसले भनेको छ, ‘सरकारले आफ्नो सम्पूर्ण संयन्त्र त्यसमा केन्द्रित गरेर उद्धार कार्य सम्पन्न गर्न तथा स्वयंसेवी, नागरिक पंक्ति, नेपाली कांग्रेसका स्थानीय संरचना, अन्य सबै दल र संघ–संस्थालाई उद्धार र राहतको कार्यमा ऐक्यवद्ध ढंगले कार्य गर्न यो बैठक अपील गर्दछ ।’
कांग्रेसले भनेको छ, ‘प्राकृतिक प्रकोपले कैयन ठूला–साना सडक अवरुद्ध भएका छन् । कयौं पुल भत्किएका छन् र आवागमनमा असर परेको छ । अस्तव्यस्त बन्नपुगेको जनजीवनलाई यसले झनै कष्टकर बनाउन सक्ने देखिन्छ । चाडपर्वहरूमा गाउँ जानचाहने नागरिकको चाप केही दिनपछि थपिनेछ ।’
‘अवरुद्ध सडकहरूको मर्मत संभारको कार्य तीब्र गतिमा अघि बढाउन तथा पक्की पुल निर्माणमा समय लाग्ने तथ्य दृष्टिगत गरि बेलिब्रीज जडान गर्न यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, कांग्रेसले भनेको छ ।
‘प्रकोपका कारण अर्बौंको क्षति भएको छ, केही विद्युतगृह क्षतिग्रस्त बन्न पुगेका छन् । विद्युत उत्पादन र नियमित रहेको वितरणमा गम्भीर असर पुगेको छ’, कांग्रेसले भनेको छ ।
‘संचार सेवा कयौं ठाउँमा अवरुद्ध भएको छ । खानेपानीको वितरण प्रभावित भएको छ । यसले गर्दा तत्काल भोग्नुपरेको समस्यामा नागरिक पंक्तिलाई विश्वासमा लिँदै, अवस्था सामान्य बनाउन सम्बन्धित निकायलाई सघन रुपले परिचालन गर्न यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा कांग्रेसले भनेको छ ।
‘विषम परिस्थितिको समयमा बजारमा बढ्नसक्ने कालोबजारी, सवारी साधनको भाडामा हुने अनियमितता नियन्त्रण गर्न÷गराउन यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ’, कांग्रेसले भनेको छ ।
‘नियमित रुपले झेल्नुपरेको प्राकृतिक विपदसँग जुध्न आवश्यकपूर्व तयारी र उद्धारमा अझै तीब्र र चुस्त तयारीको आवश्यकता खड्किएको छ’, कांग्रेसले भनेको छ, ‘तीनै तहको सरकारले निभाउनु पर्ने भूमिकाको एकीकृत रणनीति र चुस्त कार्य योजना निर्माण गर्न तथा उद्धारमा आवश्यक पर्ने श्रोत–साधनको पर्याप्त जोहो गर्न कार्यसम्पादन समितिको यो बैठक सरकारलाई ध्यानाकर्षण गराउँदछ ।’
कांग्रेसले भनेको छ, ‘प्राकृतिक प्रकोपले राष्ट्रिय विपत्तिको रुप लिएको यो घडीमा नागरिक पंक्तिलाई थप सतर्कताको अपील गर्दै सबै राजनैतिक दल, संघ–संस्थालाई योस्थितिको सामना ऐक्यवद्ध रुपले गर्न यो बैठक आह्वान गर्दछ ।’
‘क्षतिग्रस्त सबै खाले संरचनाहरूको पुनर्निर्माणका लागि तयार गर्ने प्रकृया शुरु गर्न यो बैठक सरकारलाई आग्रह गर्दछ’, कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया