कथित ‘डार्क फाइल’ काण्डमा ‘सिधा कुरा’ र समूह दोषी ठहर, कैद र जरिवाना फैसला

काठमाडौं । ‘डार्क फाइल’को नाममा ‘सिधा कुरा’ नामक अनलाइन र त्यसमा संलग्न व्यक्तिहरूले अदालतको मानहानी गरेको सर्वोच्च अदालतले ठहर गरेको छ ।

आइतबार सर्वोच्चको पूर्ण इजलासले कथित डार्क फाइल नामक अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकेको छ ।

‘सिधाकुरा’का सम्पादक युवराज कँडेल र नवीन ढुङ्गानालाई ३ महिना कैद सुनाएको सर्वोच्चको फैसाल आदेशमा उल्लेख छ ।

पूर्ण इजलासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेका छन् । ९ सदस्यीय इजलासमा गत साउन १७ गते नै सुनुवाइ सकिएको थियो ।

युवराज कँडेल र नवीन ढुङ्गानाले कथित अडिओको सत्य तथ्य परीक्षण नगरी प्रसारण गरेको हुनाले ३ महिना कैद सजाय तोकिएको छ ।

उनीहरूले लिखितरुपमा अदालत समक्ष माफी मागेमा ७ दिनमात्र कैद बसी अरु कैद निलम्बन हुने फैसलामा भनिएको छ ।

सीधा कुरा अनलाइनलाई ५ हजार जरिवाना तोकिएको छ । अनलाइनबाट लिखित माफी मागेमा सो जरिवाना माफी हुनेछ ।

सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रकाशन÷प्रसारण गरेको थियो ।

सिधा कुराले प्रसारण गरेको विवादित अडिओका विषयमा सर्वोच्च अदालत प्रशासनले नै प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो ।

कथित डार्क फाइल प्रकरणमा यो समूहले सर्वोच्चका न्यायाधीशहरूका साथै कैलाश सिरोहिया, रामेश्वर थापा लगायतलाई जोडेर एक्सक्लुसिभका नाममा समाचारका साथ अडियो र भिडियो बनाएको थियो ।

Published : Sunday, 2024 September 29, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया