अन्तरिक्षमा रहेका यात्रु लिन ड्रयागन क्याप्सुल उड्यो

न्यूयोर्क । अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउन अन्तरिक्षयान प्रस्थान गरेको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)मा फसेका दुई अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्काउने प्रयासस्वरूप स्पेसएक्स मिसनको ड्रयागन क्याप्सुल आइएसएससँग जोडिएको छ ।

फाल्कन–९ रकेटले फ्लोरिडाको केप क्यानवेरलबाट शनिबार अपराह्न उडेको छ ।

ड्रयागन क्याप्सुलले आइतबार साँझ आइएसएससँग सम्पर्क गरेको छ । क्याप्सुल आइएसएससँग जोडिएपछि नासाका अन्तरिक्षयात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभले सहकर्मीलाई अँगालो हालेका छन् ।

हेग र गोर्बुनोभ फेब्रुअरीमा अन्तरिक्ष स्टेसनबाट फर्किंदा उनीहरूले अन्तरिक्षविद् विलियम्स र बुच विल्मोरलाई पनि सँगै ल्याउनेछन् ।

बोइङले डिजाइन गरेको अन्तरिक्षयान (स्टारलाइनर)को समस्याका कारण आइएसएसमा उनीहरूको बसाइ महिनौँ लम्बिएको थियो । विल्मोर र विलियम्सलाई जुनमा आइएसएसमा पुर्‍याउँदा नयाँ विकसित स्टारलाइनरले चालक दलसहितको आफ्नो पहिलो उडान गरेको थियो ।

उनीहरू त्यहाँ केवल आठ दिनका लागि गएका थिए । स्टारलाइनरको प्रोपल्सन सिस्टममा समस्या देखा परेपछि उनीहरू अन्तरिक्षमा फसेका थिए ।

Published : Tuesday, 2024 October 1, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया