अख्तियारद्वारा प्राधिकरणको मुख्यालय सिनामंगलमा छापा, प्रदीप अधिकारीको सातोपुत्लो उड्यो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणमा छापामारेको छ ।

बुधबार बिहान कार्यालय समयमा आयोगको टोलीले प्राधिकरणको सिनामंगल, काठमाडौंमा रहेको केन्द्रीय कार्यालयमा छापामारेको उच्च स्रोतले जनाएको छ । प्राधिकरणको नयाँ भवन सिनामंगलमा बनेको छ । भवन बनाउने क्रममा ठूलो आर्थिक अनियमितता र चलखेल भएको प्रमाणसहित उजुरी परेपछि आयोगले अनुसन्धान गर्न छापामारेको स्रोतको भनाइ छ ।

नयाँ भवन निर्माणका क्रममा १ अर्बभन्दा बढीको भ्रष्टाचार भएको आरोप छ । भवन भासिएको प्राधिकरणभित्र चर्चा छ । नयाँ भवन भासिएर क्षति पुगेपछि आयोगले छापामारेको बुझिएको छ ।

प्रदीप अधिकारी प्राधिकरणको महानिर्देशक बनेर आएपछि विभिन्न घटना र लफडाहरू बाहिर आइरहेका छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अधिकारीलाई प्राधिकरणको महानिर्देशक बनाएका हुन् । महानिर्देशक अधिकारीको नाम विभिन्न काण्डहरूमा मुछिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अख्तियारले छापामारेर महानिर्देशक अधिकारीसँग बयान समेत लिएको छ । सार्वजनिक लेखा समितिले पनि छानविन समिति बनाएर पोखरा विमानस्थलमा भएको अनियमितताबारे अनुसन्धान गरिरहेको छ ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ठूलो आर्थिक चलखेल र घोटालाको आशंकामा सार्वजनिक लेखा समितिले उपसमिति नै बनाए अनुसन्धान गरिरहेको छ ।

अधिकारी प्राधिकरणको महानिर्देशक बनेर आएपछि ठूला हवाई दुर्घटनाहरू भएका छन् । अधिकारीलाई कारबाही गर्न कुनै पनि मन्त्रीले गर्न सकेका छैनन् । हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे छन् । पाण्डे पनि महानिर्देशक अधिकारीसामु निरिह बनेको आरोप छ ।

Published : Wednesday, 2024 October 2, 12:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया