नेपाल-भारतमैत्री संघद्वारा बल्खुका बाढी तथा डुबानपीडितलाई राहत हस्तान्तरण
काठमाडौं । नेपाल–भारतमैत्री संघले काठमाडौंको बल्खुका बाढी तथा डुबान पीडितलाई दश लाख रुपियाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडितहरूलाई नेपाल चिकित्सक संघमार्फत दश लाख रुपियाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।
बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक संघको आग्रह बमोजिम संघले राहत सामग्री हस्तान्तरण गरेको संघका कार्यवहाक अध्यक्ष ई. शैलेन्द्रमोहन झाले बताएका छन् । राहत सामग्रीमा खाद्यान्न, औषधि, व्याङ्वेट, कम्बलहरू लगायत बहुउपयोगी सामग्री छन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले आफूहरूले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताएका छन् । बल्खुमा दुई दिनभित्र मेडिकल क्याम्पसहित आफूहरू जाने र राहत वितरण गर्ने उनले बताएका छन् ।
डा.कार्कीले विपदको बेलामा आगामी दिनमा पनि नेपाल–भारतमैत्री संघले यस्तै सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया