लिङ्देनले विधान मिचेर संगठन विभागबाट राणालाई हटाए, क्रूर कदमले पार्टीभित्र खैलाबैला
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको ‘अमानवीय क्रूर तथा संवेदनाशून्य’ कदमका कारण पार्टीभित्र खैलाबैला सुरु भएको छ ।
भारतमा क्यान्सरको उपचार गरिरहेका महामन्त्री डा. धवलशम्शेर राणालाई विधान मिचेर संगठन विभाग प्रमुखबाट लिङ्दनले एकलौटी हटाएकै कारण अध्यक्षमाथि चौतर्फी आक्रोश र दवाब बढेको स्रोतले जनाएको छ ।
‘घटस्थापनाको सार्वजनिक विदा पारेर यस्तो स्वेच्छाचारी, मौकापरस्त चोरी कार्य गर्नुमा लिङ्दनको के बाध्यता थियो ? अध्यक्षकै कारण अब पार्टी तहसनहस हुने भयो’, सामाजिक सञ्जालमा भनिएका छन्, ‘बिरामी मित्रबिरुद्ध यस्तो निर्दयी काम त दुश्मनले पनि गर्दैनन् । गत महाधिवेशनमा पुस्तान्तरण, राप्रपामा युवा नेतृत्व अभियानको अगुवाई गर्ने निर्वाचित महामन्त्री राणाप्रति किन यस्तो निर्दयी र निच व्यवहार ? अध्यक्षको अहमबाट उनको विनाश सुरु भयो ।’
निर्वाचित उपाध्यक्ष र निर्वाचित सांसद बिक्रम पाण्डेलाई ज्यान मुद्दा लगाउन कम्मर कसेर लाग्ने अध्यक्ष लिङ्देनले महामन्त्री राणालाई संगठन विभाग प्रमुखबाट हटाउनु के आश्चर्य ? भन्ने जस्ता आलोचना राप्रपामा सुनिएको छ ।
लिङ्देनलाई अध्यक्ष बन्न राजनैतिक आशीर्वाद दिने पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले बिरामी साथीलाई तनाव दिने अविवेकी तथा अमानवीय कार्य भनेर असहमति र दुःख व्यक्त गरेका छन् ।
राप्रपाका लोकप्रिय नेता राणा मुम्बईस्थित टाटा मेमोरियल अस्पतालमा उपचार गराइरहेका छन् । राणाप्रति तमाम नेता कार्यकर्ताको सद्भाव र समर्थन छ । राणाले राप्रपाको आन्दोलनको मोर्चा नेतृत्व गरीरहेका छन् ।
कुशल संगठनकर्ता राणा सरल स्वभावका औधी लोकप्रिय नेता हुन् । स्थानीय निकाय परिचालन विषयमा अमेरिकाबाट विद्यावारिधि गरेका विद्वान नेता हुन् ।
राप्रपाको विधानको धारा २४ मा केन्द्रीय कार्य समितिले विभाग र समितिहरू गठन गर्ने र तिनको काम, कर्तव्य अधिकार तोक्ने व्यवस्था गरिएको छ ।
पार्टी अध्यक्ष एक्लैले विभाग गठन वा हेरफेर गर्न पाउने व्यवस्था कहीँ छैन । विधान मिचेकै कारण राप्रपाले जारी गरेको विज्ञप्तिमा विधानको कुन धारा टेकेर अध्यक्षले विभाग हेरफेर गरेको भन्ने खुलाइएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया