इजरायल र लेवनानमा रहेका नेपालीको सुरक्षामा सरकार गम्भीर छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले इजरायल र हिजबुल्लाह समूहबीच लेवनानमा युद्ध चर्किरहेको अवस्थामा त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताएकी छिन् ।

शुक्रबार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा.राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा.राणाले लेबनानमा रहेका नेपालीको तथ्याङ्क संकलन भइरहेको बताएकी छिन् । उनले लेबनान र इजरायलमा रहेका नेपालीहरूलाई सम्पर्कमा आउन र चाहेको सहयोग माग गर्न आग्रह गरेकी छिन् ।

नेपालीको उद्धारका लागि प्रयास भइरहेको भन्दै परराष्ट्रमन्त्री डा.राणाले दोहोरो आक्रमणका कारण परिस्थिति जटिल बनेकाले तत्काललाई पर्ख र हेरको स्थितिमा रहेको बताएकी छिन् ।

डा.राणाले अझै केही नेपाली दूतावासको सम्पर्कमा नआएकाले नेपालमा रहेका आफन्तलाई समेत उनीहरूको अवस्थाबारे जानकारी दिन र सम्पर्कमा आउन आग्रह गरेकी छिन् ।

क्यानडामा भएको महिला विदेशमन्त्रीहरूको बैठकमा राजनीतिमा महिलाको सहभागिता बढ्दो कि घट्दो भन्ने सम्बन्धमा छलफल भएको र आफूले नेपालको अवस्थाबारे जानकारी गराएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु परिवर्तनमा गम्भीर हुन विश्वसमुदायलाई आग्रह गर्नुका साथै नेपालजस्तो अति कम विकसित मुलुकलाई दिगो विकास लक्ष्य हासिल गर्न कति गाह्रो छभन्ने विषयमा छलफल भएको बताएकी छिन् ।

डा.राणाले कतारको दुईदिने भ्रमणमा नेपालमा लगानी भित्र्याउने सम्बन्धमा छलफल भएको बताएकी छिन् ।

डा.राणाले अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा विभिन्न देशका राष्ट्रप्रमुख, विदेशमन्त्री, राष्ट्रसंघका विभिन्न निकाय लगायतका प्रतिनिधिहरूसँग कुटनीतिक भेटघाट गरेकी थिइन् । त्यस क्रममा एमसीसी प्रमुखसँग पनि नेपालको परियोजनाका विषयमा कुराकानी भएको डा.राणाले बताएकी छिन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्री डा.राणा क्यानडा हुँदै अमेरिकाको न्यूयोर्क गएकी थिइन् । डा.राणा १९ दिनको विदेश भ्रमणपछि शुक्रबार स्वदेश फर्किएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणालाई परराष्ट्र मन्त्रालयका उच्च कर्मचारी, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा लगायत नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

Published : Friday, 2024 October 4, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया