मकवानपुर प्रहरीको नेतृत्व सम्हालेको हप्तादिनभित्रै एसपी खड्काद्वारा ८ किलो सुन बरामद
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले करोडौं रुपियाँ मूल्य पर्ने ८ किलोभन्दा धेरै तौल भएको पहेँलो धातु अर्थात् सुन बरामद गरेको छ ।
शनिबार मकवानपुर प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले पत्रकार सम्मेलन गरेर भारतीय नागरिक दुई जनालाई भन्सार छलि गरेर ल्याएको ८ किलो सुनसहित पक्राउ गरिएको बताएका छन् । बरामद भएको सुनको हालको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपियाँ र ६ सय ५० पैसा रहेको छ ।
८ किलो २ सय ४३ ग्राम र ९ सय ७० मिलिग्राम सुनसहित भारतीय नागरिकद्वय २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाडलाई पक्राउ गरिएको एसपी खड्काले बताए । पक्राउ परेका अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाल बाड भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी निवासी हुन् ।
विशेष सूचनाको आधारमा असोज १९ गते बिहान करीव ३ बजे एसपी खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टस्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग सडक खण्डबाट सुन बरामद भएको हो ।
पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नबरको स्कुटरलाई रोकेर एसपी खड्का आफैले चेक गरेका थिए । त्यस क्रममाअभिषेक र राहुलले शरीरका विभिन्न भागमा लुकाइ राखेको सुनको विस्कुटहरू बरामद गरेको पत्रकार सम्मेलनमा एसपी खड्काले बताए ।
अभिषेक र राहुललाई बरामद भएको सुनसहित मकवानपुर प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाएका छ ।
एक हप्ता अगाडि मात्रै मकवानपुर प्रहरीको नेतृत्व सम्हालेका एसपी खड्काले यसअघि पनि काठमाडौंको बालाजु वृत्तमा रहका बेला ठूलो परिमाणमा सुन, लागुऔषध बरामद गरेका थिए । मकवानपुरमै एसपी खड्काले केही दिन अगाडि पनि सुन बरामद गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया