रविविरुद्ध चितवनमा प्रदर्शन, सहकारीपीडितमाथि रास्वपाका कार्यकर्ताद्वारा ढुङ्गा प्रहार

भरतपुर । सहकारीको करोडौं रकम अपचलन र ठगी प्रकरणमा कारबाही सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा प्रदर्शन भएको छ ।

शनिबार चितवनमा आयोजित कार्यक्रममा सहभागी हुँदै गर्दा सहकारी पीडितहरूले लामिछानेविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका सहकारीपीडितहरूलाई रास्वपाका नेता कार्यकर्ताले बोतल र ढुङ्गामुढा प्रहार गरेका छन् ।

चितवन साहारा सहकारीका पीडितहरू ब्यानरसहित नारा लगाउँदै कार्यक्रममा आएका थिए । कार्यक्रमस्थलमा पीडितहरू आउने क्रममा नारायणगढको लायन्स चोकमा प्रहरीले सहकारीपीडित प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।

प्रहरीको अवरोधपछि पनि सहकारीपीडितहरू सभापति लामिछाने सहभागी भएको कार्यक्रमस्थल पुगेका थिए । सहकारी पीडितहरूलाई कार्यक्रम स्थलबाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहकारीपीडितहरूले भने आफूहरूले शान्तिपूर्ण प्रदर्शन र ज्ञापन पत्र बुझाउन खोज्दा कार्यक्रमस्थलबाटै आफूहरूमाथि ढुङ्गा प्रहार भएको बताएका छन् । रास्वपाका नेता कार्यकर्ताले सहकारीपीडितहरूको ज्ञापन पत्र बुझ्नुको साटो ढुङ्गामुढा प्रहार गरेको पीडितहरूले आरोप लगाएका छन् ।

साहारा सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले आफ्नो समस्याका बारेमा रास्वपाका सभापति रवि लामिछानेलाई जानकारी गराउन खोज्दा उल्टै हस्तक्षेप भएको बताएका छन् ।

साहारा सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोड के हो ? १५ प्रतिशतको तपाई भागिदार हुनेको नहुने विषयमा कुरा गर्न आउँदा भित्रबाट एक्कासि पीडितमाथि ढुङ्गा र बोतल प्रहार भएको दुवाडीले बताएका छन् ।

रास्वपाका सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ का सांसद् पनि हुन् । लामिछानेलाई संसदीय छानविन समितिले सहकारीको रकम अपचलन र ठगी काण्डमा कारबाहीका लागि सिफारिस गरेको छ । लामिछानेलाई कुनै पनि बेला प्रहरीले पक्राउ गरेर बयान लिनुका साथै संगठित अपराधमा मुद्दा चलाउने सम्भावना छ ।

Published : Saturday, 2024 October 5, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया