प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेट, राहत र पुनर्स्थापनाबारे कुराकानी

काठमाडौं । नेपाली कांग्रेसले बाढी, पहिरो र डुबानबाट पीडितहरूको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको टोलीले प्रधानमन्त्री केपी ओलीलाई भेट गरेर जनधनको क्षति, पीडितहरूको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा ३४ बुँदे सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएको हो ।

कांग्रेसले एकताको नेपाली संस्कारअनुरुप सरकारले विस्तृत कार्ययोजना निर्माण गरी संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल समेतको ऐक्यबद्धता र साझा प्रयासमा अहिलेको प्राकृतिक विपद् सामना गर्न आग्रह गरेको छ ।

तीन तहका सरकार र निजी क्षेत्र, नागरिक समाज, स्वदेशी तथा विदेशी गैरसरकारी संघ–संस्था, गैर आवासीय नेपाली समुदायसंग समन्वय र परिचालन गरेर संकटग्रस्त घोषणा गरिएका क्षेत्र र प्रभावित क्षेत्रमा विपदपछिको उद्धार, राहत र पुनर्स्थापना कार्य द्रुत गतिमा व्यवस्थित रुपमा अघि बढाउन कांग्रेसले सरकारलाई सुझाव दिएको छ ।

सबै तहका सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र अरु सहयोगी संघ–सस्था, निजी क्षेत्र तथा वैदेशिक विकास साझेदारहरूलाई राहत र उद्धारमा जोड्ने चुस्त प्रणाली निर्माण गरी जिल्ला सुरक्षा संयन्त्रको समन्वय र प्रभावित क्षेत्रका स्थानीय सरकारको संयोजनमा यथाशीघ्र प्रभावित परिवारलाई आवश्यकता अनुसार त्रिपाल, खाद्यान्न, औषपध र लत्ताकपडा तत्काल उपलब्ध गराउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल विपदको उच्च जोखिम भएको मुलुकमध्ये एक रहेको भन्दै कांग्रेसले यो दशकभित्रै गोरखा र जाजरकोट केन्द्रित दुई भूकम्पले हजारौँको मृत्यु भएको घटनालाई समेत स्मरण गराएको छ ।

कांग्रेसले विपद् सामनाको चुस्त रणनीति निर्माण र संस्थागत दक्षताको विकास अनिवार्य रहेको महसुस भएको जनाएको छ ।

Published : Sunday, 2024 October 6, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया