प्रभु समूहद्वारा उद्धार राहत कोषमा पौने दुई करोड सहयोग

काठमाडौं । प्रभु समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रूपियाँ सहयोग गरेको छ ।

बाढीपहिरो पीडितहरूको सहयोगका लागि प्रभु समूह अन्तर्गतका प्रभु बैंक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्सका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै एक करोड आर्थिक सहयोग गरिएको अध्यक्ष देवीप्रकश भट्टचनले बताएका छन् ।

सोमबार प्रभु समूहका अध्यक्ष भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रधानमन्त्री केपी ओलीलाई १ करोड ७५ लाख रूपियाँको चेक हस्तान्तरण गरेका छन् ।

देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति गरेको छ ।

प्रभावित परिवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पीडितहरूको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरेको भट्टचनले बताएका छन् ।

प्रभु समूह अन्तर्गतका उल्लेखित संस्थाहरूबाट प्रदान गरिएको सहयोगले बाढीपहिरो तथा डुबानबाट पीडितहरूको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा उक्त समूहले गरेको छ ।

Published : Monday, 2024 October 7, 4:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया