म पनि भलिबलको खेलाडी हुँ : मन्त्री रोज राणा, झाँकी र पञ्चेबाजासहित रजवारामा भव्य स्वागत

रजवारा । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले आफूलाई सबैभन्दा मन पर्ने खेल भलिबल भएको बताएका छन् ।

आइतबार गृहजिल्ला प्यूठानको गौमुखी गाउँपालिकाको रजवारामा तिखाचुली युवा क्लवले आयोजना गरेको बृहत बडादशैँ मेला २०८१ तथा भलिबल प्रतियोगिताको उदघाटनसत्रलाई सम्बोधन गर्दै मन्त्री राणाले आफू पनि भलिबलको खेलाडी भएको बताए । उनले भने, ‘मलाई भलिबल खेलौकी खेलौ जस्तो लाग्दो रहेछ । लामो समय खेल्न छोडेपछि खेल्न सकिदो रहनेछ । मैले बीचमा ट्राइ पनि गरे । अब हामी हेर्ने मात्रै जस्तो रहेछ । अत्यन्तै मलाई खेलमा मन पर्ने खेल भलिबल हो ।’

राणाले भने, ‘खेलाडीमा जुन उत्साह र जोश छ त्यो निकै सह्रानीय छ । २० वर्ष अगाडि हामीले खेलहरु राखेका थियौँ । आज मलाई रजवाराको भलिबल प्रतियोगिताले पुरानो स्मरणमा लगेको छ । जित र हार भन्ने कुरा त्यस्तै हो । खेलमा हुने अनुशासन, लगनशीलता सबैभन्दा ठूलो कुरा हो ।’

मन्त्री राणाले रजवारामा भलिबलको यति ठूलो प्रतियोगिता कसरी सम्भव छभनेर गाउँपालिकाका अध्यक्ष विष्णु गिरीजीलाई जिज्ञासा राखेको भन्दै सहयोग के कसरी भएको छभनेर कुरा गरेको बताए । उनले भने, ‘यत्रो भव्य कार्यक्रम कसरी सम्भव हुन्छ ? यसको आर्थिक पाटो कसरी जुट्छ ? तपाईहरुले के सहयोग गर्नुभएको छ ? हामीलाई थाहा पनि भएन । हामीले सहयोग गर्न चाहँदा पनि त्यो कुरा थाहा भएन । गाउँपालिकाको अध्यक्षज्यूले भन्नुभयो यहाँको एउटा यस्तो समाज छ । जसले विदेशमा बसेर पनि यहाँको समाजलाई सहयोग छभन्ने सुन्दा मलाई साह्रै गौरन्वित भएको छु ।’

रजवाराको समाज जस्तै मिलेर बस्यौँ भने अन्यत्र कतै जानु पर्दैन भन्दै मन्त्री राणाले मतदानका बेला रजवाराले सबैभन्दा राम्रो भोट दिएको बताए । उनले भने, ‘भोट गन्दै आउँदा के हुन्छ ? के हुन्छ ? भन्ने थियो यहाँ आइसकेपछि सबै भोट म माथि खाइदिएर मेरो जित सुनिश्चित गर्ने रजवारा सायद कहिल्यै बिर्सने छैन ।’

रजवारालाई केही गर्नुपर्नेछ भन्ने विषयमाप आफू बिचलित नरहेको मन्त्री राणाले बताएका छन् । आफू मन्त्री भएको दुई महिना मात्रै भएको भन्दै राणाले रजवाराको ऋण तिर्न बाँकी रहेको बताए । उनले ऋण तिर्न रजवारा आउने बताए ।

बजेट बनाउने बेला सबै स्थानीय नेताहरुसँग कुरा गरेर बजेट ल्याउने मन्त्री राणाले बताएका छन् । उनले खानेपानी, एकीकृत बस्ती विकास लगायतका विषयमा आफू गम्भिर रहेको बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश सभाकी सदस्य धनलक्ष्मी श्रेष्ठ, गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरी, प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्मा, नेपाली कांग्रेस प्यूठानका पूर्वसभापति सुवास केसी, गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर राना मगर, नेपाल तरुण दलका केन्द्रीय सदस्य सुनिल बस्नेत, नेपाल तरुण दलका अध्यक्ष कृष्ण बस्याल ‘रोयल’, गौमुखी स्वर्गद्वारी यातायात प्रालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, तिखाचुली युवा क्लवका अध्यक्ष माधवकुमार कार्की लगायतको उपस्थिति रहेको थियो ।

भलिबल प्रतियोगितामा नेपाली सेनासहित विभिन्न क्लवहरुको सहभागिता रहनेछ । प्रतियोगितामा प्यूठानका साथै गुल्मी, बाग्लङका क्लवहरुले पनि भाग लिनेछन् । प्रथम हुने टिमले एक लाख नगदसहित ट्रफी पाउनेछ । दोस्रो र तेस्रो हुने टिमलाई पनि नगदसहित ट्रफी दिइनेछ । उत्कृष्ट टिम र खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको क्लवका अध्यक्ष माधवकुमार कार्कीले बताएका छन् ।

प्रतियोगिताको उद्घाटन हुनुभन्दा अगाडि शहरी विकास तथा खानेपानीमन्त्री राणालाई पञ्चेबाजा र झाँकीसहित मञ्चसम्म लगिएको थियो । मन्त्री राणालाई क्लवका सदस्य र सहभागीहरुले फूलमालाले भव्य स्वागत गरेका थिए ।

Published : Sunday, 2024 October 13, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया