कांग्रेस-एमालेकाे सरकार ढल्न लागेको हाे ? के भन्छन् प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एमाले र कांग्रेस गठबन्धनको सरकार परिवर्तनको कुरामा कुनै सत्यता नरहेको भन्दै त्यस्ता कुरा भ्रम भएको र ती भ्रमहरूमा नपर्न आग्रह गरेका छन् ।

बुधबार काठमाडौंमा ६९औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले सरकार परिवर्तनको भ्रम नछर्न र त्यस्ता भ्रममा नपर्न आग्रह गरेका हुन् । एमाले र कांग्रेस गठबन्धनको सरकार लगभग दुई तिहाइको रहेको र त्यो बलियो छ भन्ने हेक्का राख्न पनि उनले आग्रह गरेका छन् ।

‘नेपालको राजनीति, नेपालको समाज, नेपालो अर्थतन्त्र, नेपालको विकासमा सबैभन्दा ठूलो योगदान गरेका नेपाली कांग्रेस र एमालेजस्तो पार्टीहरू मिलेर अहिले सरकार बनाएका छन् । सरकार लगभग दुई तिहाइको छ भन्ने कुरा सबैमा हेक्का रहोस् । यो खरानीको डल्लो होइन,’ ओलीले भने, ‘एमाले र कांग्रेस जसको इतिहास, यो देशको विकास गर्ने कुरामा छ, परिवर्तन गर्ने कुरामा छ । त्यस्ता पार्टीहरूको सरकार हो यो ।’

सरकार परिवर्तनको विषयमा हल्ला चलेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘विभिन्न प्रकारका कुनाकाच्पाबाट पनि आवाज आउने गरेका छन् । म स्पष्ट भन्न चाहन्छु–अहिलेको संविधान जनतामा सार्वभौमसत्ता रहेको, जनता शक्तिको स्रोत भएको संविधान र संविधानले निर्दिष्ट गरेको अहिलेको प्रणाली यसको रक्षा गर्दै अघि बढ्नुपर्दछ । धेरै कुरामा कम्प्रोमाइज हुन सक्दछ । तर प्रणालीको कुरामा हुन सक्दैन । लोकतन्त्रको कुरामा कम्प्रोमाइज हुन सक्दैन,’ ओलीले भने ।

ओलीले भने, ‘अलोकतान्त्रिक विधि, अलोकतान्त्रिक बाटोबाट परिवर्तनका कुरा भनेको अराजनीतिक कुरा हो । अलोकतान्त्रिक कुरा हो । यो सभ्य समाज र संस्कृतिभित्र पर्ने कुरा होइन,’ उनले भने, ‘म सबैलाई आश्वस्त रहनु पनि आग्रह गर्न चाहन्छु कि, कुनै पनि प्रकारका भ्रमहरूमा नपर्न म आग्रह गर्न चाहन्छु । अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्नेकुरा पनि सुनिन्छ, दसैंपछि तुरुन्त परिवर्तन हुन्छ रे !´

`कुन दसैंपछि ? २०८४ सालको दसैंपछिको चुनावमा ? त्यसभन्दा पहिला मैले पहिले नै भनिसकेको छु– मैले एक वर्ष नौ महिना जति रह्यो होला । त्यसपछि शेरबहादुरजीलाई हस्तातरण गर्छु भनेर मैले पहिला नै भनिसकेको छु । त्यसपछि आफै फेरिन्छ सरकार । त्यसपछि शेरबहादुरजीले नेतृत्व गर्नुहुन्छ । र, चुनाव उहाँको नेतृत्वमा हुन्छ २०८४ सालमा’, ओलीले भने ।

प्रधानमन्त्री ओलीले २०८४ सालमा निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुने र त्यसपछि जसले जितेर आउँछ त्यसले सरकार गठन गर्ने बताएका छन् ।

Published : Wednesday, 2024 October 16, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया