बिबादित प्रहरी ईन्स्पेक्टर बिनुकुमारी शाहीलाई पक्राउ गरेर थुन्न अनुमति

काठमाडौं । प्रहरी प्रभाग, भैंसेपाटी, ललितपुरकी तत्कालीन प्रहरी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।

बलात्कार मुद्दामा फसाइदिने भन्दै लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले शाहीलाई असोज १० गते जिम्मेवारीबाट हटाएको थियो । घटनाबारे जिल्ला प्रहरी परिसर, ललितपुरले छानबिन गरेको थियो । शाही निकै बिबादित मानिन्छन् । उनी बेलाबेला बिबादमा पर्दै आएकी थिइन् ।

छानबिनका क्रममा कैफियत देखिएपछि ईन्स्पेक्टर शाहीलाई हिरासतमै राखेर थप अनुसन्धान गर्ने निर्णयमा प्रहरी पुगेको छ । शाहीलाई पक्राउ गर्न अदालतले अनुमति दिइसकेको स्रोतले जनाएको छ ।

हनी ट्यापिङमा पारेर असुली गर्ने समूहसँग ईन्स्पेक्टर शाहीको शंकास्पद सम्बन्ध रहेको पाइएपछि निलम्बन गर्न समेत सिफारिस गरिएको थियो ।

ललितपुर प्रहरीले अनुसन्धान गरिरहेका बेला प्रहरी प्रधान कार्यालय, नक्सालले समेत यो मामलामा जाँच गर्न एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा समिति बनाएको थियो ।

Published : Wednesday, 2024 October 16, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया