अबहेलना प्रकरणमा बारका अध्यक्ष घिमिरेलाई सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एसोसिएनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध परेको अदालत अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र डा.कुमार चुडालको संयुक्त इजलासले कारण देखाउ आदेश जारी गर्दै अध्यक्ष घिमिरेलाई ७ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको हो ।

न्याय परिषदले गरेका निर्णयहरूका विषयलाई लिएर सर्वोच्च अदालत प्रशासनले बारका अध्यक्ष घिमिरेविरुद्ध अदालत अवहेलनाको मुद्दा दायर गरेको थियो ।

न्यायपरिषदको असोज ११ गतेको बैठकले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेनका आधारमा न्यायाधीश सिफारिस गरेको अभिव्यक्ति दिएका थिए ।

घिमिरेको अधिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार घिमिरेले सर्वोच्चमा प्रतिवेदन पेश गरेका थिए । सोही प्रतिवेदनमाथि बिहीबार सर्वोच्चले सुनुवाइ गर्दै अध्यक्ष घिमिरेलाई निवेदकको माग बमोजिम आदेश दिन नपर्ने कारण भए लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

Published : Thursday, 2024 October 17, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया